मन्त्रिमण्डल हेरफेर छिट्टै हुन्छः देवेन्द्र पौडेल
काठमाडौं, असार १० : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवं सांसद देवेन्द्र पौडेलले बजेट कार्यान्वयनसँगै मन्त्रिमण्....

काठमाडौं, असार १० : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवं सांसद देवेन्द्र पौडेलले बजेट कार्यान्वयनसँगै मन्त्रिमण्डल पुनर्गठन हुने बताएका छन्।
पौडेलले मन्त्रिमण्डल पुनर्गठनबारे छलफल भइरहेकाले बजेट कार्यान्वयनसँगै मन्त्रीहरु अदलीबदली हुनसक्ने बताए। उनले पार्टी एकता गर्दा नै दुबै अध्यक्षले आलोपालो बैठकको अध्यक्षता गर्ने र सरकार पनि आलोपालो चलाउनेबारे सहमति भएकाले सोही सहमतिअनुसार अघि बढ्नुपर्नेमा जोड दिए।
मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले भने,‘हामी एकताको पक्षमा छौं। एकता रहरको लागि गरिएको होइन। त्यसैले विगतमा भएका सहमति इमानदारिताका साथ कार्यान्वयन गर्नुपर्छ।’
सरकारको काम सुशासनको क्षेत्रमा अझै राम्रो हुनुपर्ने भनेर जनस्तरबाटै गुनासो आइरहेकाले त्यसप्रति सरकार गम्भिर बन्नुपर्ने उनको सुझाव थियो। उनले भने,‘सरकारले सुशासनको क्षेत्रमा शुन्य सहनशिलता अपनाउनुपर्छ।’
भ्रष्टाचार न्यूनीकरणका लागि पनि त्यस्तै गम्भिर पहलकदमी चाल्नुपर्ने उनको भनाइ थियो। उनले भने,‘भ्रष्टाचार न्यूनीकरणको लागि विपक्षीले उठाएको आवाज स्वागतयोग्य छ।’











