मन्त्री अर्यालले भनिन्– गुठी विधेयकबारे गलत हल्ला फिजाएर मानिसलाई उत्तेजित बनाउने काम भयो
काठमाडौं, असार १० : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले धर्म र परम्परा मास्ने गरी गुठी विधेयक ल्याइयो भनेर गलत प्रचार ग....

काठमाडौं, असार १० : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले धर्म र परम्परा मास्ने गरी गुठी विधेयक ल्याइयो भनेर गलत प्रचार गरिएको गुनासो गरेकी छिन्।
मंगलबार बसेको राष्ट्रियसभा बैठकमा गुठीसम्बन्धी विधेयक फिर्ता लिने प्रस्ताव पेश गर्दै मन्त्री अर्यालले सनातन धर्मको संरक्षण गर्न नै विधेयक ल्याइएको र साविकदेखि चलेको प्रथा, परम्परा सबै विधयेकमा व्यवस्था गरिएको स्पष्ट पारिन्।
‘निजी गुठीलाई विगतमा भन्दा अझ बलियो बनाउन लागिएको थियो। तर, सरकार परम्परा मास्न लाग्यो भनेर हल्ला पिटाएर मानिसलाई उत्तेजित बनाउने काम भयो,’ उनले भनिन्,‘साझा, पारदर्शी, धर्म संस्कृतिको संरक्षण गर्ने व्यवस्था विधेयकमा थियो।’
उनले गुठी विधेयक संविधान विपरीत नभएको र संविधान कार्यान्वयन गर्न ल्याइएको बताइन्। उनले गुठी ऐन २०३३ ले समयानुकूल र वैज्ञानिक बनाउनुपर्नेे आवश्यकता जनाएको हुनाले २०५८ सालमा नै गुठीसम्बन्धी विधेयक तत्कालीन राष्ट्रियसभामा प्रस्तुत गरिएको स्मरण गराएकी थिइन्।
गुठी जग्गासँग जोडिएका पीडित जनता पनि रहेको उल्लेख गर्दै मन्त्री अर्यालले त्यसलाई सरकारले हेरेर मात्र नबसी जिम्मेवारीसमेत लिएर समाधान खोज्दा अहिले विरोध गरिएको टिप्पणी गरिन्।
गुठीसम्बन्धी विधेयक राष्ट्रियसभाबाट मंगलबार नै फिर्ता भएको छ। मन्त्री अर्यालले गरेको विधेयक फिर्ता लिने प्रस्ताव राष्ट्रियसभाबाट सर्वसम्मतीले पारित भएको थियो।
सरकारले गत जेठ ६ गते राष्ट्रियसभामा गुठी सम्बन्धी विधेयक प्रस्तुत गरेको थियो। गुठी विधेयक पेश हुने वित्तिकै आन्दोलन सुरु भएपछि सरकारले गत असार ३ गते विधेयक फिर्ता लिने निर्णय गरेको थियो।











