Kathmandu Press

सुदूरपश्चिममा नेपाल समूहका १७ सांसदसँग मागियो २४ घन्टाभित्र स्पष्टीकरण

धनगढी, जेठ २७ : एमाले सुदूरपश्चिम प्रदेश कमिटीले पार्टीको निर्देशनविपरीत मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिएको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल समूहका १७...
सुदूरपश्चिममा नेपाल समूहका १७ सांसदसँग मागियो २४ घन्टाभित्र स्पष्टीकरण

धनगढी, जेठ २७ : एमाले सुदूरपश्चिम प्रदेश कमिटीले पार्टीको निर्देशनविपरीत मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिएको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल समूहका १७ सांसदलाई स्पष्टीकरण सोधेको छ।

मंगलबारको प्रदेशसभा बैठकमा पार्टीको निर्देशन उल्लंघन गर्दै मुख्यमन्त्री भट्टको पक्षमा मतदान गर्नुको कारण स्पष्ट पार्दै २४ घन्टाभित्र जवाफ पेस गर्न भन्दै आज (बिहीबार) संसदीय दलका नेता प्रकाशबहादुर शाहसहित १७ जनालाई स्पष्टीकरण सोधिएको हो।

जेठ १० गते पार्टी स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयपछि विश्वासको मतको विपक्षमा मतदान गर्न दिएको निर्देशनविपरीत उभिएकाले उनीहरूलाई स्पष्टीकरण सोधिएको जनाइएको छ।

जबाफ नदिए वा दिइएको जबाफ चित्तबुझ्दो नभए पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरिने पनि पत्रमा उल्लेख छ।

संसदीय दलका नेता शाहलाई पार्टीको निर्देशनविपरीत सरकारमा आफू र अरूलाई पनि सहभागी गराउनुको कारण सोधिएको छ।स्पष्टीकरण पत्रमा एमाले सुदूरपश्चिम अध्यक्ष कर्ण थापा र सचिव राजेन्द्र सिंह रावलको हस्ताक्षर रहेको छ।  

सुदूरपश्चिम प्रदेश सभामा एमालेमा नेपाल समूहको बहुमत छ । त्यसकारण एमाले संसदीय दलले समर्थन कायमै राख्ने निर्णय गरेको थियो। अहिले चार मन्त्री र तीन राज्यमन्त्रीसहित नेपाल समूह प्रदेश सरकारमा सामेल छ।

मुख्यमन्त्री भट्टले विश्वासको मत लिने निर्णय गरेसँगै एमाले संसदीय दलको बैठकले पार्टी निर्देशन उल्लंघन गर्दै पक्षमा मत दिने निर्णय गरेको थियो।

ओली समूहका सात सांसदहरुले मुख्यमन्त्रीको विपक्षमा मत दिए। संसदीय दलको निर्देशन उल्लंघन गरेको भन्दै ओली पक्षीय सात सांसदलार्ई स्पष्टीकरण सोधेका थिए।

ती सात सांसदले शाहलाई स्पष्टीकरण बुझाइसकेका छन्। संसदीय दलले भने स्पष्टीकरण अध्ययनको क्रममा रहेको बताइएको छ।

संसदीय दलका नेता प्रकाशबहादुर शाहलाई पठाइएको पत्र

 

प्रकाशित मिति: १६:१२ बजे, बिहीबार, जेठ २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्