गुठी विधेयक राष्ट्रियसभाबाट फिर्ता
काठमाडौं, असार १० : विवादित गुठी विधेयक राष्ट्रियसभाबाट फिर्ता लिइएको छ।
मंगलबार बसेको राष्ट्रियसभा बैठकमा गुठी सम्बन्धी कानूनलाई....
काठमाडौं, असार १० : विवादित गुठी विधेयक राष्ट्रियसभाबाट फिर्ता लिइएको छ।
मंगलबार बसेको राष्ट्रियसभा बैठकमा गुठी सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक भूमिसुधार मन्त्री पद्मा अर्यालले फिर्ता लिने प्रस्ताव गरेकी थिइन्। गुठी विधेयक फिर्ता लिने मन्त्री अर्यालको प्रस्ताव राष्ट्रियसभाको बैठकले पारित गरेको थियो।
सरकारले गत जेठ ६ गते गुठी विधेयक राष्ट्रियसभामा प्रस्तुत गरेको थियो। गुठी विधेयक राष्ट्रियसभामा पेश हुनासाथ फिर्ता लिन माग गर्दै काठमाडौंबासी आन्दोलनमा उत्रिएका थिए। विधेयकलाई लिएर काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा आन्दोलन चर्किएपछि भूमिसुधार मन्त्री अर्यालले गत असार ३ गते पत्रकार सम्मेलन गरी सरकारले गुठीसम्बन्धी विधेयक फिर्ता लिने निर्णय गरेको बताएकी थिइन्।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विधेयक राष्ट्रियसभामा पेश भइसकेकाले संसदभित्रैबाट फिर्ता लिनु पर्ने माग गरेको थियो।






