Kathmandu Press

बादल पत्नी नैनकला सञ्चार मन्त्री बन्दै, पूर्वमाओवादी ज्वालाकुमारीलाई कृषि मन्त्रालय

पोखरा, जेठ २७ : प्रधानमन्त्री केपी ओलीले आज (बिहीबारं) अपराह्न मन्त्रिपरिषद विस्तार गर्दै छन्। अघिल्लो साता मन्त्रिपरिषद् हेरफेर गर्दा उनले केही मन्त्रालय आफैंसँग...
बादल पत्नी नैनकला सञ्चार मन्त्री बन्दै, पूर्वमाओवादी ज्वालाकुमारीलाई कृषि मन्त्रालय
नैनकला थापा र ज्वालाकुमारी साह

पोखरा, जेठ २७ : प्रधानमन्त्री केपी ओलीले आज (बिहीबारं) अपराह्न मन्त्रिपरिषद विस्तार गर्दै छन्। अघिल्लो साता मन्त्रिपरिषद् हेरफेर गर्दा उनले केही मन्त्रालय आफैंसँग राखेका थिए। तिनै मन्त्रालयमा उनले नयाँ मन्त्री नियुक्त गर्न लागेका हुन्।

प्रधानमन्त्री केपी ओलीले एमाले र राजपालाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्। आज अपराह्न ४ बजे राष्ट्रपतिको कार्यालय शीतल निवासमा मन्त्रीहरुको शपथ तय भएको छ।

आज विस्तार गरिने मन्त्रिमण्डलमा एमाले नेता एवं पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पत्नी नैनकला थापाले सञ्चार तथा प्रविधि मन्त्रालयको जिम्मेवारी पाउने बताइएको छ।

माओवादीबाट एमालेमा आएका दुईजनाले मन्त्री बन्ने अवसर पाउने भएका छन्। ती दुवै महिला हुन्। जसमा एक जना नैनकला र अर्का एकजना ज्वालाकुमारी साह रहेको स्रोतको भनाइ छ।

सर्वोच्च अदालतको आदेशले ६ जेठमा पूर्वमाओवादीका बादलसहित सातजना मन्त्री पदबाट मुक्त भएका थिए। उनीहरूको पुनर्नियुक्ति सम्भव नभएपछि नैनकलालाई भने अवसर दिइएको बताइएको छ।

मन्त्री र सांसद पद दुवै गुमाएका बादललाई सान्त्वना दिन ओलीले उनकी पत्नीलाई मन्त्री पद दिएको बताइन्छ । किनकि बादलले नेकपा एकीकरण बदर नहुँदै ओलीलाई साथ दिँदै आएका थिए र सर्वोच्चले दुई पार्टी ब्युँताएपछि उनी ओलीसँगै रहन माओवादी केन्द्र छाडेर एमालेमा आएका थिए।   

माओवादी युद्धमा हुँदा नैनकला महिला संघकी अध्यक्ष थिइन्। उनी २०६४ पछि महिला आयोगको प्रमुख पनि बनेकी थिइन्।

स्रोतका अनुसार ज्वालाकुमारीलाइ कृषिमन्त्री बनाउन लागिएको हो। माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेको भन्दै उनलाई प्रदेश २ को प्रदेशसभा सदस्यबाट पदमुक्त गरिएको थियो।

प्रदेश २ मा माओवादी केन्द्रका तर्फबाट प्रदेश सांसद रहेकी ज्वालाकुमारी प्रभु साह एमाले प्रवेश गरेपछि उनले पनि पूर्वपार्टी त्यागेकी थिइन्। उनी प्रभु साहनिकट नेत्री भनेर चिनिन्छिन्। 

प्रकाशित मिति: १४:२७ बजे, बिहीबार, जेठ २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्