Kathmandu Press

‘भेनेजुएला वक्तव्यबारे विवाद छैन’

भेनेजुएलाको सत्ता पलटमा अमेरिकी भूमिकाको निन्दा गर्दै सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालले दिएको वक्तव्यबारे पार्टीभित्र कुनै विवाद नरहेको उक्त पार्टीका एक केन्द्....

‘भेनेजुएला वक्तव्यबारे विवाद छैन’

भेनेजुएलाको सत्ता पलटमा अमेरिकी भूमिकाको निन्दा गर्दै सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालले दिएको वक्तव्यबारे पार्टीभित्र कुनै विवाद नरहेको उक्त पार्टीका एक केन्द्रीय सदस्यले प्रष्ट पारेका छन् । 

पार्टी एकता हुनुअघि तत्कालीन् नेकपा (माओवादी केन्द्र)का विदेश विभाग सचिव रहेका युवराज चौलागाईंले काठमाडौं प्रेससँग कुरा गर्दै यस्तो दाबी गरेका हुन् । उनले भने, “प्रचण्डले पार्टीमा सल्लाह गरेर नै वक्तव्य जारी गर्नु भएको हो ।” 

दाहालले गत शुक्रबार भेनेजुएलाबारे वक्तव्य जारी गर्दा पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली डाभोस वैठकमा सहभागी भई स्वदेश फर्किने क्रममा थिए । डाभोसमा उनले अमेरिकालगायतका देशका पूँजीपतिहरूलाई नेपालमा लगानी गर्न आग्रह गरेका थिए । 

शनिवार काठमाडौं ओर्लिएपछि पत्रकारहरूसँग छोटो कुराकानी गर्दै प्रधानमन्त्री ओलीले दाहालको वक्तव्यबारे सुनेको तर बुझ्न बाँकी रहेको बताएका थिए । प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले भने दुई अध्यक्षबीच भेनेजुएलाको विषयमा कुरै हुन नपाएको प्रतिक्रिया मिडियालाई दिएका छन् ।

यो पनि पढ्नुस्ः रूपमा पार्टी, सारमा मोर्चा

भट्टराईको दाबी विपरीत चौलागाईंले चाहिँ पार्टी अध्यक्षलाई पार्टीको बैठक नभएको अवस्थामा आन्तरिक सरसल्लाह गरेर वक्तव्य जारी गर्ने अधिकार रहेको र दाहालले त्यहीँ अधिकार उपयोग गरेको बताएका छन् । संविधान बमोजिम बनेको सरकारलाई विस्थापित गर्दा त्यसको विरोधमा वक्तव्य जारी गरिनुलाई अस्वाभाविक भन्न नमिल्ने दाबी पनि उनले गरेका छन् । 

उनले भने, ‘चुनावमा निर्वाचित भएको निकोलस मडुरोको सरकारलाई अमेरिका लगायत सरकारले मान्यता नदिँदा पनि राष्ट्रपति विद्यादेवी भण्डारीले वधाई सन्देश पठाउनुभएको थियो । यसबाट मडुरोको सरकारलाई नेपालले मान्यता दिएको पुष्टि हुन्छ ।’ 

नेपालले मान्यता दिएको सरकारलाई अपदस्थ गरिँदा नेकपाले त्यसको विरोध गर्नु स्वाभाविकै भएको चौलागाईंले बताए । यो वक्तव्य सरकारलाई अप्ठेरोमा पार्ने वा असहयोग गर्ने अनि अमेरिकालाई चिढ्याउने र अमेरिकासँग सम्बन्ध बिगार्ने गरी नआएको चौलागाईंले प्रष्ट पारे ।

दाहालको विज्ञप्तिमा भनिएको छ – ‘आन्तरिक मामिलामाथिको यो हस्तक्षेप र साम्राज्यवादी कुको प्रयास अस्वीकार्य छ । अमेरिकाले गत दशकदेखि आर्थिक नाकाबन्दी लगाई सैनिक हस्तक्षेपको डर देखाएर भेनेजुयलामा अस्तव्यस्तता ल्याउन प्रयास गरिरहेको छ। यो संयुक्त राष्ट्र संघको बडापत्र र शान्तिपूर्ण सहअस्तित्वमाथि गम्भीर चुनौती हो।’

 

 

प्रकाशित मिति: १५:११ बजे, आइतबार, माघ १३, २०७५