संक्रमित मरे वडासँग किरिया खर्च छ, उपचार खर्च छैन
‘बिरामीलाई सहयोग गर्ने बजेट छुट्ट्याइएको छैन । आर्थिक अवस्था न्यून भएर उपचार गर्न रोकिएको खबर आएमा नगरपालिकामा सिफारिस गरिदिन्छौंँ ।’काठमाडौं, जेठ २७ : कमलामाई नगरपालिका–६ सिन्धुलीका ४२ वर्षीय रामजी विश्वकर्मालाई तीन साताअघि ज्वरो आएको थियो, उनले मेडिकलबाट औषधि किनेर खाए । औषधिले एक सातासम्म ज्वरो ठीक नभएपछि जेठ १४ गते उनी जिल्ला अस्पताल सिन्धुली पुगे । त्यहाँ कोरोना परीक्षण गराउँदा जेठ १६ गते कोरोना पजेटिभ रिपोर्ट आयो ।
त्यसपछि उनलाई वडा ७ माझिटारस्थित अस्थायी कोभिड व्यवस्थापनमा चार दिनसम्म राखियोे । स्वास्थ्य अवस्था नसुध्रिएछि थप उपचारका लागि उनलाई काठमाडौं पठाइयो । एम्बुलेन्स चालकको सहयोगमा काठमाडौं ल्याइएका उनी जेठ २० गतेदेखि नेपाल–भारत मैत्री अस्पतालमा आइसियुमा छन् । रामजीकी पत्नी गोमा विश्वकर्मा भन्छिन्, ‘उहाँको स्वास्थ्यमा सोचेअनुसार सुधार आउन सकेको छैन । काठमाडौंमा कुन अस्पतालमा उपचार गराउने भन्ने थाहा थिएन । एम्बुलेन्स चालकले भनेका आधारमा यस अस्पताल ल्याएका हौँ ।’
नेपाल–भारत मैत्री अस्पतालका कर्मचारी लव ओलीका अनुसार, एक साता आइसियुमा राख्दा पनि राजमीको स्वास्थ्यमा सुधार आउन सकेको छैन । ‘अस्पताल ल्याउन ढिला भएका कारण भाइरसले शरीर गलाएको देखिन्छ,’ उनले भने, ‘तर, पहिलोको तुलनामा थोरै सुधार आएको छ ।’
गाउँमा स्वास्थ्य अवस्था बिग्रिँदै जाँदा अक्सिजनको अभाव हुन थाल्यो । आफन्त तथा डाक्टरले काठमाडौं लैजानु भनेपछि थप उपचारका लागि काठमाडौं ल्याएको गोमा बताउँछिन् । ‘अक्सिजन अभाव भएकाले थप उपचारका लागि काठमाडौंँ ल्याएँ, अहिले खर्चको अभाव भएको छ,’ उनले काठमाडौं प्रेससँग भनिन्, ‘हालसम्म एक लाख २० हजार रुपैयाँ खर्च भइसकेको छ । अहिले लकडाउन भएकाले आफन्तबाट पनि सहयोग पाउन सकिएको छैन ।’
बुधबारदेखि गोमालाई पनि ज्वरो आएको छ, तर उनले अहिलेसम्म कोरोना परीक्षण गराएकी छैनन् । आफू पनि संक्रमित भएको हो कि भन्ने शंका उनलाई छ । बिरामी कुरुवालाई एम्बुलेन्स चालकहरुले सहयोग गरी खाजा–खाना खुहाइरहेको उनी बताउँछिन् ।
रामजीका चार छोरी र एक छोरासहित ७ जनाको परिवार छ । दुई छोरीको विवाह भइसकेको छ । दुई छोरी र एक छोरा सानै उमेरका छन् । रामजीले मजदुरी गरेर गुजारा चलाइरहेका थिए ।
‘वडाले दिन्छ किरिया खर्च १५ हजार’
कमलामाई नगरपालिका– ६ का अध्यक्ष उज्जलकुमार थापाका अनुसार, वडा कार्यालयमा संक्रमित व्यक्तिलाई सहयोग गर्न बजेट छैन । तर, संक्रमित व्यक्तिको मृत्यु भएमा सो व्यक्तिको परिवारलाई किरिया खर्च १५ हजार रुपैयाँ दिने व्यवस्था भएको उनी बताउँछन् ।
उनका अनुसार, संक्रमित व्यक्तिलाई नगरपालिकाभित्रको अस्थायी कोभिड अस्पतालमा निःशुल्क राखिन्छ । बिरामीलाई अन्य जिल्लामा उपचार गराउनुपरेमा निःशुल्क एम्बुलेन्स सेवा दिइएको पनि उनी बताउँछन् । ‘बिरामीलाई सहयोग गर्ने बजेट छुट्ट्याइएको छैन,’ उनले फोनमा भने, ‘आर्थिक अवस्था न्यून भएर उपचार गर्न रोकिएको खबर आएमा नगरपालिकामा सिफारिस गरिदिन्छौंँ ।’
‘उपचारमा नगरपालिकाले सहयोग गर्छ’ : नगर प्रमुख
नगरवासीलाई कोभिड–१९ को उपचारमा सहयोग गर्ने कमलामाई नगरपालिकाका नगरप्रमुख खड्गबहादुर खत्री बताउँछन् । उनका अनुसार, संक्रमितलाई पहिला नगरपालिकाभित्रकै अस्थायी कोभिड व्यवस्थापन अस्पतालमा राखिन्छ । बिरामीको अवस्था बिग्रँदै गएमा अन्य अस्पताल पठाइन्छ ।
‘आर्थिक अभावका कारण संक्रमितले ज्यान गुमाउनुपरेको सुन्नुपरे निकै पीडादायी हुन्छ । त्यसैले संक्रमितको ज्यान जोखिम भएमा नगरपालिकाले सबै खर्च व्यहोर्न नसके पनि थोरै भए पनि सहयोग गछौं,’ खत्रीले भने, ‘अहिले संक्रमित रामजी विश्वकर्माको बारेमा नगरपालिकासम्म खबर आइपुगेको छैन । उपचार गर्न नसकेकामा नगरपालिकाले सहयोग गर्छ ।’