अब किन चाहियो राष्ट्रिय योजना आयोग?
काठमाडौं, असार १० : राष्ट्रिय योजना आयोगको औचित्यमाथि संसदमा प्रश्न उठाइएको छ। प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले आयोगको औचित्यमाथि प्रश्न उठाएका ह....

काठमाडौं, असार १० : राष्ट्रिय योजना आयोगको औचित्यमाथि संसदमा प्रश्न उठाइएको छ। प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले आयोगको औचित्यमाथि प्रश्न उठाएका हुन।
सांसदले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा.युवराज खतिवडाले राष्ट्रिय योजना आयोगको औचित्य रहेको बताएका छन्। देश संघीय संरचनामा गएपछि योजना आयोगको भूमिका अझ बढेको उनको भनाइ थियो।
‘राष्ट्रिय योजना विकास आवश्यक छ। यसका विषयमा अहिले नै प्रश्न उठाउनु उपयुक्त हुँदैन,’ अर्थमन्त्री खतिवडाले भने।
अहिले विकासका लागि प्राथमिकता तोकेर जानु पर्ने अवस्था रहेको उल्लखे गर्दै त्यसका लागि योजना आयोग आवश्यक रहेको उनको भनाइ थियो।
त्यस्तै, अहिले स्थानीय, प्रदेश र संघीय सरकारका बीच समन्वय गर्न पनि आयोग आवश्यक रहेको उनले बताए। ‘हामीबीचमा समन्वय ल्याउनु पर्ने छ।
दीगो विकास लक्ष्य प्राप्त गर्नु पर्ने छ,’ अर्थमन्त्री डा.खतिवडाले भने, ‘यसका समन्वय गर्न एउटा संस्था चाहियो। स्थानीय सरकार, प्रदेश सरकारबीचको विवाद, मन्त्रालयबीच हुने विवादमा समन्वय गर्न योजना आयोग आवश्यक छ।’
उनले स्रोतको बाँडफाड तथा उपभोगका विषयमा स्थानीय, प्रदेश तथा संघीय सरकारबीच आउने विवादमा पनि समन्वय गराउन आयोग आवश्यक रहेको उनको भनाइ थियो। ‘हाम्रो प्राकृतिक स्रोत र साधानको कसरी प्रयोग गर्ने भन्ने विषयमा सरकारलाई सुझाव दिने संस्था चाहिन्छ। त्यो योजना आयोग हो,’ उनले भने।
अर्थ मन्त्रालयलाई देशको आवश्यकता अनुसार, दिशानिर्देश गर्न पनि योजना आयोगको भूमिका महत्वपूर्ण रहेको उनको भनाइ थियो। ‘अर्थ मन्त्रालयले अत्यधिक राजनीतिक बजेट ल्याउदा पनि भूमिका खेल्न राष्ट्रिय योजना आयोग चाहिन्छ,’ उनले भने।











