प्रदेश २ मा कांग्रेस र माओवादी सरकारमा जाने तयारी
जनकपुर, जेठ २६ : प्रदेश २ मा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) सरकारमा जाने तयारीमा छन्। प्रदेश २ मा जनता समाजवादी पार्टी (जसपा)को सरकार...
जनकपुर, जेठ २६ : प्रदेश २ मा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) सरकारमा जाने तयारीमा छन्।
प्रदेश २ मा जनता समाजवादी पार्टी (जसपा)को सरकार रहेको छ। उपेन्द्र यादव पक्षका लालबाबु राउत मुख्यमन्त्री छन्।
महन्थ ठाकुर पक्षले ओलीलाई सघाएपछि प्रदेशमा पनि विवाद उत्पन्न भएको हो। मुख्यमन्त्री राउतले ठाकुर पक्षका मन्त्रीलाई पदमुक्त गरिसकेका छन्।
अब कांग्रेस र माओवादीलाई सरकारमा ल्याउन लागिएको हो। कांग्रेसले तीन र माओवादीले दुई मन्त्रालय पाउने भएका छन्। यसमा विषयमा टुंगो लगाउन आज छलफल हुन लागेको जनाएको छ।
कांग्रेस र माओवादी सरकारमा जाने भएपछि अहिले प्रदेश २ मा १० मन्त्रालय बनाउन लागिएको छ। पाँच मन्त्रालयले जसपाले राख्नेछ भने तीन वटा कांग्रेस र दुई वटा माओवादीले पाउने एक मन्त्रीले बताए।
यस विषयमा मंगलबार पनि छलफल भएको थियो। तर, प्रदेश सभा बैठक भएकाले छलफल रोकिएको थियो।
आज तीनै दलका नेताबीच छलफल हुने भएको छ। सहमति बनेमा आजै कांग्रेस र माओवादीका मन्त्री नियुक्त गर्ने तयारी रहेको जसपाका एक नेताले बताए।
प्रदेश २ सभामा १०७ सदस्य छन्। बहुमतका लागि ५४ सांसद चाहिन्छन्।
जसपाका ५५ सांसद छन्। जसमा यादव पक्षका ३५ र ठाकुर पक्षका २० सांसद छन्। ठाकुर पक्षका पाँच सांसद यादवतिर गएका छन्।
त्यस्तै, नेकपा (एमाले)का २१, नेपाली कांग्रेसका १९ र माओवादीका आठ सांसद छन्। नेपाल संघीय समाजवादी पार्टीका एक सांसद छन्।
कांग्रेस र माओवादी सरकारमा गए बहुमत पुग्छ। यसअघि कर्णालीमा पनि कांग्रेस सरकारमा गएको छ।











