प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
काठमाडौं, जेठ २६ : प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आज सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुदै छ।प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा बिरामी हुँदा संवैधानिक इजलास बस्न सकेको...
काठमाडौं, जेठ २६ : प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आज सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुदै छ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा बिरामी हुँदा संवैधानिक इजलास बस्न सकेको थिए। आइतबार ‘हर्दाहेर्दै’मा राखिएको भए पनि सोमबार र मंगलबार इजलास बस्न सकेको थिएन।
आइतबार प्रधानन्यायाधीश जबराले न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको संवैधानिक इजलास पुनर्गठन गरेका थिए।
तर, सरकारी पक्षका कानून व्यवसायीले न्यायाधीशहरू कार्की र भट्टराईको विषयलाई लिएर विवाद गरेका थिए। उनीहरूले कार्की र भट्टराई अलग हुनुपर्ने माग गरेका थिए।
जसले गर्दा आइतबार प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइ हुन सकेको थिएन। न्यायाधीशकै विषयमा बहस भएको थियो।
प्रधानन्यायाधीश जबरा बिरामी हुँदा बस्न नसकेको संवैधानिक इजलास आज बस्न लागेको हो। आजको इजलासमा न्यायाधीशहरू कार्की र भट्टराईले आफ्नो आदेश सुनाउने जनाएको छ।
दुवै जनाले आदेश सुनाएपछि आज सुनुवाइ हुने कि नहुने तय हुनेछ। उनीहरू बसे भने सुनुवाइ हुनेछ। उनीहरू अलग भए भने फेरि संवैधानिक इजलास पुनर्गठन हुनेछ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ८ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन्। त्यसका विरुद्ध विपक्षी पाँच दलका सांसदसँगै बिभिन्न कानून व्यवसायीले ३० वटा रिट दर्ता गराएका छन्।











