विप्लवको बन्दले देशभरको जनजीवन प्रभावित, ठाउँ-ठाउँमा बम फेला
काठमाडौं, असार १० : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको प्रभाव देशभरी परेको छ। बन्दका कारण देशभरको जनजीव....

काठमाडौं, असार १० : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको प्रभाव देशभरी परेको छ। बन्दका कारण देशभरको जनजीवन प्रभावित भएको छ। केही ठाउँमा सवारी सधानमाथि आगजनी गरिएको छ।
विप्लवका सर्लाही इन्चार्ज कुमार पौडेललाई मारेको विरोधमा नेकपाले बन्द आह्वान गरेको हो। प्रहरीले मुठभेडमा मारिएको जनाएको छ भने कुमार पौडेलका आफन्तले नियन्त्रणमा लिएपछि मारिएको बताएका छन्। उनका दुवै हातसमेत भाँचिएको र त्यसपछि गोली हानेर मारिएको नेकपाको दाबी छ।
नियन्त्रणमा लिएर मारिएको विरोधमा नेकपाले बन्दको आह्वान गरेको हो।
बन्दका कारण देशभरका लामोदूरीका सवारी साधान चलेका छैनन्। मुख्य शहरहरु बन्द रहेका छन्। देशभरका शैक्षिक संस्था र कलकाराखाना पनि बन्द रहेका छन्।
काठमाडौंमा पनि बन्दको प्रभाव परेको छ। शैक्षिक संस्था बन्द रहेका छन्। छिटफुट गाडी चलेका छन भने बजार पनि छिटफुट मात्रै खुलेको छ।
बन्दका क्रममा विप्लवका कार्यकर्ताले विभिन्न ठाउँमा बम रोखका छन्। केही ठाउँमा राखिएका शंकास्पद बस्तु तर्साउनुलाई मात्रै राखिएको पाइएको छ भने केही ठाउँमा बम भेटिएका छन्।
त्यस्तै, नवलपुरको कावासोती नगरपालिका उपमेयरको गाडीमा पेट्रोल छर्केर आगजनी गरिएको छ। हिजो राति साढे १ बजे उपमेयर प्रेम शंकर मर्दनियाले चढ्ने लु १ झ ३२१ नम्बरको गाडीमा आगजनी गरिएको हो।
कावासोती–१५ अमलटारिस्थित निवासमा पार्किंङ गरी राखेको गाडीमा आगजनी गरिएको उनले बताए। मोटरसाइकलमा आएका दुई जनाले पेट्रोल छर्केर आगो लगाएको जनाएको छ। उनीहरू आगो लगाएपछि भागेका थिए।
अर्घाखाँचीको छत्रदेव गाउँपालिकाका दुई ठाउँमा सकेट बम भेटिएका छन्। ति बम सन्धिखर्कस्थित नेपाली सेनाको रामबाण गुल्मको टोलीले निष्कृय पारेको छ।
त्यस्तै, पोखरामा पनि बम भेटिएको छ। त्यहाँ सडक छेउमा राखिएको बम नेपाली सेनाको टोलीले निष्कृय पारेको प्रहरीले जनाएको छ।











