सरकारले पार्टी कार्यकर्ता होइन बेरोजगारलाई मात्रै चिन्छ: मन्त्री विष्ट
काठमाडाैं, असार ९ : श्रम, रोजगार तथा सामाजिक सुरक्षा गोकर्ण विष्टले सरकारले पार्टी कार्यकर्तालाई नभएर काम नपाएका बेरोजगार व्यक्तिलाई मात्रै चिन्न....

काठमाडाैं, असार ९ : श्रम, रोजगार तथा सामाजिक सुरक्षा गोकर्ण विष्टले सरकारले पार्टी कार्यकर्तालाई नभएर काम नपाएका बेरोजगार व्यक्तिलाई मात्रै चिन्ने बताएका छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयक, २०७६ मा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका विभिन्न शीर्षकमाथि सांसदले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री गोकर्ण विष्टले सरकारले काम नपाएका बेरोजगार व्यक्तिलाई निष्पक्षताका साथ कामको आधार प्रदान गर्न आफ्नो दायित्व निर्वाह गरेको बताएका हुन्।
“काम नपाएका बेरोजगार व्यक्तिलाई कुन पार्टीमा मत हाले, कुन पार्टीमा मत हालेनन्, कुन पार्टीको कार्यकर्ता हुन् वा होइनन् सरकारले चिन्दैन”, उनले भने, “सरकारले पार्टीका कार्यकर्ता वा गैरकार्यकर्ता, पार्टीमा भोट हाल्ने वा नहाल्ने जान्दैन, केवल सरकारले बेरोजगार व्यक्ति मात्र चिन्छ।”
प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन गर्न पर्याप्त कानूनी संरचना तयार गरिएको प्रस्ट पार्दैै उनले स्थानीय तहअन्तर्गत कार्यान्वयन गर्ने गरी रोजगार कार्यक्रम सञ्चालन गरिएको बताए। रोजगार कार्यक्रम सञ्चालन गर्न वस्तुनिष्ठ आधारमा बजेटको विनियोजन गरिएको जानकारी दिँदै उनले जनसङ्ख्या, गरीबी र भौगोलिक विकटता हेरेर बजेट विन्यास गरिएको बताए। मन्त्री विष्टले रोजगार कार्यक्रम कार्यान्वयनका लागि पहुँचका अधारमा बजेट विनियोजन गरिएको भन्ने विषयमा सत्यता नभएको बताए।
सरकारले निरपेक्ष गरीबीको रेखामुनि रहेको जनताको जीवनस्तर माथि उकास्ने गरी रोजगारीलाई व्यवस्थापन गर्ने सोचका साथ प्रधानमन्त्री रोजगार कार्यक्रमबाहेक अन्य कार्यक्रमको पनि व्यवस्थापन गर्न लागिएको उनले बताए। निजी क्षेत्रसँगको साझेदारीमा सीपयुक्त जनशक्तिको प्रबन्ध मिलाउन, सूचना प्रविधि क्षेत्रमा रोजगारीको व्यवस्था गर्न सरकारले अध्ययन थालेको मन्त्री विष्टको भनाइ छ।
“सरकार, निजी क्षेत्र र सहकारीको माध्यमबाट स्वदेशमै पर्याप्त मात्रामा रोजगारीको अवसर उपलब्ध गराउन सरकारले प्रयत्न गरिरहेको छ, आउँदो वर्ष थप पाँच लाखलाई रोजगारी सिर्जना गर्न सम्भव हुनेछ,” उनले भने।
्











