मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिने एमाले संसदीय दलको निर्णय
धनगढी, जेठ २५ : सुदूरपश्चिम प्रदेश एमाले संसदीय दलले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने निर्णय गरेको छ ।मंगलबार बिहान बसेको प्रदेश संसदीय दलको...
धनगढी, जेठ २५ : सुदूरपश्चिम प्रदेश एमाले संसदीय दलले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने निर्णय गरेको छ ।
मंगलबार बिहान बसेको प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री भट्टले प्रदेशसभामा पेस गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको हो।
सुदूरपश्चिम प्रदेश सभामा ५२ सदस्य छन्। यहाँ मुख्यमन्त्री भट्टलाई विश्वासको मत प्राप्त गर्न २७ मत चाहिन्छ। प्रदेशसभामा मुख्यमन्त्री भट्टको दल नेकपा माओवादी केन्द्रका १३ सांसद मात्र छन् । प्रदेशसभाको सबैभन्दा ठुलो दल एमालेका २५ सांसद छन् । एमाले संसदीय दलमा खनाल–नेपाल पक्षको बहुमत छ । पछिल्लो समय सुदूरपश्चिम प्रदेशसभामा एमालेका २५ मध्ये ७ सांसद खुलेर लागेका छन् ।
ओली पक्षको प्रदेश कमिटीले भने विश्वासको मतको विपक्षमा मतदानका लागि ह्वीप जारी गर्न संसदीय दललाई निर्देशन दिएको थियो । तर प्रदेश कमिटीको निर्देशनलाई उपेक्षा गर्दै संसदीय दलले विश्वासको मतको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।











