आज देशभर कोरोनाविरुद्धको खोप लगाइँदै
काठमाडौं, जेठ २५ : आज देशभर कोरोना भाइरसविरुद्धको चिनियाँ खोप भेरोसेल लगाइँदै छ। चीनबाट अनुदान दिएको भेरोसेल खोप देशभर लगाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...
काठमाडौं, जेठ २५ : आज देशभर कोरोना भाइरसविरुद्धको चिनियाँ खोप भेरोसेल लगाइँदै छ।
चीनबाट अनुदान दिएको भेरोसेल खोप देशभर लगाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आज काठमाडौं उपत्यकामा ६० देखि ६४ वर्षसम्म र काठमाडौं बाहिर ६२ देखि ६४ वर्षसम्मका नागरिकलाई लगाइनेछ।
तिब्बतसँग जोडिएका जिल्लामा भने १८ वर्षमाथिका नागरिकलाई पनि खोप लगाइने भएको छ। त्यस्तै, यसअघि छुटेको स्वास्थ्यकर्मीलाई पनि भेरोसेल लगाइने भएको छ।
यससँगै भेरोसेलको पहिलो डोज लगाएका तर, काठमाठौं बाहिर भएकाले लगाउन छुटेकालाई पनि अहिले दोस्रो डोज लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ।
खोप लगाउने सबै तयारी पूरा भएको मन्त्रालयले जनाएको छ। खोप सातै प्रदेशमार्फत खोप केन्द्रमा पठाइसकिएको जनाएको छ।
स्वास्थ्य मन्त्रालयले बढी उमेरका नागरिकलाई प्राथमिकतमा राखेर खोप लगाउन निर्देशन दिएको छ। आज ६४ वर्षका नागरिकबाट खोप लगाउन सुरु गरिनेछ। त्यसपछि ६३ र ६२ वर्षकाले खोप पाउनेछन्।











