Kathmandu Press

नेपाल–खनाल समूहको ७ बुँदे जवाफ- जालझेल र विभाजित गर्ने ओलीको दुराशय (पूर्णपाठसहित)

एमाले अध्यक्ष केपी ओलीले एकताका लागि गरेको आह्वान जालझेल र विभाजित बनाउने दुराशयबाट प्रेरित रहेको नेपाल-खनाल समूहले प्रतिक्रिया दिएको छ ।
नेपाल–खनाल समूहको ७ बुँदे जवाफ- जालझेल र विभाजित गर्ने ओलीको दुराशय (पूर्णपाठसहित)

काठमाडौं, जेठ २४ : एमाले अध्यक्ष केपी ओलीले एकताका लागि गरेको आह्वान जालझेल र विभाजित बनाउने दुराशयबाट प्रेरित रहेको नेपाल–खनाल समूहले प्रतिक्रिया दिएको छ ।

सोमबार साँझ सात बुँदे वक्तव्यमार्फत उक्त समूहले भनेको छ, ‘पार्टी अध्यक्ष केपी ओलीबाट अगाडि सारिएका कुराहरू पार्टी एकतालाई अक्षुण्ण राख्न नवौँ महाधिवेशनको निर्णय र पार्टी विधान तथा सर्वोच्च अदालतको फैसलाको अन्तर्यअनुरूप छैनन् । उहाँको वक्तव्यमा प्रयोग गरिएको भाषा र बुँदाहरू केलाउँदा जालझेल, अन्योल र भ्रमणको आधारमा अरूलाई अल्मल्याउने र विभाजित गर्ने दुराशय देखिन्छ ।’

अध्यक्ष ओलीले आइतबार राति प्रकाशित गरेको वक्तव्यका हरेक बुँदामा नेपाल–खनाल समूहले जवाफ दिएको छ । र, प्रतिनिधिसभा विघटनको निर्णय फिर्ता लिन आग्रह गरेको छ ।

‘प्रतिनिधिसभाको असंवैधानिक विघटनको जिम्मेवारी लिएर त्यस्तो गलत निर्णय सच्याउने कुरा गर्नुको साटो सर्वोच्च अदालतमा प्रतिनिधिसभाको पुनःस्थापनाका लागि दायर रिट निवेदनमा हामीले गरेको हस्ताक्षर फिर्ता हुनुपर्ने पूर्वशर्त राखिएको छ,’ विज्ञप्तिमा उल्ल्ेख छ, ‘उक्त रिट निवेदन प्रधानमन्त्रीबाट प्रतिनिधिसभाको असंवैधानिक विघटनका कारण संविधान, लोकतन्त्र र संसदको रक्षा गर्नुपर्ने आवश्यकताको परिणाम हो। प्रधानमन्त्रीबाट प्रतिनिधिसभाको विघटनको निर्णय फिर्ता भएमा यससम्बन्धी विवादको स्वतः निरुपण हुनेछ।’

‘हामी सार्थक वार्ता, सिद्धान्तनिष्ठ एकता र मेलमिलापको पक्षमा रहँदै आएका छौँ र अन्तिम घडीसम्म यस सम्बन्धमा हाम्रो सकारात्मक प्रयास जारी रहने छ । अहिले पनि हामी त्यही चाहन्छौँ र नेपालको कम्युनिस्ट आन्दोलनलाई क्षतविक्षत पार्ने सबै प्रकारका षडयन्त्र पराजित हुनुपर्छ भन्ने दृढ मान्यता राख्छौँ,’ वक्तव्यमा भनिएको छ, ‘यही मान्यता र विश्वासका साथ हामीले अनेकौँ घात–प्रतिघात सहँदै पार्टी एकताका लागि अन्तिमसम्म पार्टीमै रहेर आफ्नो प्रयास अगाडि बढाइरहेका छौँ । हामीले बाध्यात्मक स्थितिमा मात्र वैकल्पिक मार्ग अवलम्बन गर्ने दृष्टिकोण राखेका छौँ । अतः छलछाम र षडयन्त्रपूर्ण किसिमले कुरा गरेर राष्ट्र र जनता तथा पार्टीपंक्तिको भावनाअनुरूप पार्टीमा एकता कायम नहुने कुरा स्पष्ट हुँदाहुँदै पार्टी अध्यक्ष र देशको प्रधानमन्त्रीजस्तो जिम्मेवार पदमा आसिन व्यक्तिबाट अनुचित मार्ग र शैली अवलम्बन गरिनु दुःख र चिन्ताको विषय हो । यस्तो गलत बाटो परित्याग गरी हामीले यसअघि लिखित रूपमा अगाडि सारेका कुराहरूको विश्वसनीय रूपमा सम्बोधन गर्दै इमानदारीका साथ वार्ता र सहमतिको बाटो अवलम्बन गरिए मात्र सकारात्मक परिणाम आउन सक्नेतर्फ गम्भीर ध्यानाकर्षण गर्छौँ ।’

वक्तव्यको पूर्णपाठ

प्रकाशित मिति: २०:१२ बजे, सोमबार, जेठ २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्