‘इन्ट्राडे हाई’मा बन्द भएको शेयर बजार सकारात्मक, अबको अवरोध कतिमा होला?
काठमाडौं, असार ९ : आज दोस्रो बजारमा सकारात्मक प्रवृत्ति देखिएको छ। उच्च र बजार विन्दु हुने विन्दु एकै भएकाले सोमबार बजार ‘ईन्ट्....
काठमाडौं, असार ९ : आज दोस्रो बजारमा सकारात्मक प्रवृत्ति देखिएको छ। उच्च र बजार विन्दु हुने विन्दु एकै भएकाले सोमबार बजार ‘ईन्ट्राडे हाई’मा बन्द भएको छ। ‘इन्ट्राडे हाई’लाई अर्को कारोबार दिनका लागि सकारात्मक प्रवृत्ति मानिन्छ।
साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ५ दशमलव ७५ अंकले बढेर १२६० दशमलव १० को विन्दुमा पुगेको छ। दोस्रो बजार परिसूचकमा ० दशमलव ४६ प्रतिशतकोे वृद्धि देखिएको छ। दोस्रो बजार १२५४ दशमलव ३६ को विन्दुमा खुलेको थियो भने १२६० दशमलव १० को उच्च विन्दुसम्म पुगेको थियो।
आज बजारको न्यून विन्दु १२५३ दशमलव ०१ थियो। दिनभरमा ४८ करोड १४ लाखको शेयर किनबेच भएको छ।
आजको बजारको अवस्था
आज सर्वाधिक कारोबार हुने
आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर किनबेच भएको छ। शिवम् सिमेन्टको ५ करोड १८ लाख बराबरको शेयर किनबेच भएको छ।
आज सर्वाधिक कमाउने र गुमाउने
आज जनउत्थान सामुदायिक लघुवित्तका शेयरधनीले सर्वाधिक ९ दशमलव ९१ प्रतिशतले कमाए भने मल्टी पर्पोस फाइनान्सका शेयरधनीले सर्वाधिक ९ दशमलव ६० प्रतिशतले गुमाए।
मूल्य समायोजन गतिविधि
पाँच प्रतिशत बोनस शेयर प्रयोजनार्थ राधी विद्युत कम्पनी लिमिटेडको शेयर मूल्य समायोजन भएको छ।
शेयर सूचीकरण
नेपाल इन्स्योरेन्सको हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको छ।
भोलिका प्रमुख गतिविधि
- ६० प्रतिशत बिक्री गर्ने प्रस्तावसहित परुडेन्सियल इन्स्योरेन्स असार १० गते विशेष साधारण सभा गर्दैछ।
- मल्टी पर्पोस फाइनान्सको १ बराबर ८ दशमलव ६५ अनुपातको हकप्रद शेयर प्रयोजनार्थ असार ११ गते बुक क्लोज हुँदैछ। असार १० गतेसम्म कायम शेयरधनीले हकप्रद खरिद गर्न पाउने छन्।
प्राविधिक विश्लेषण
अघिल्लो कारोबार दिनअघिको निष्कर्ष अनुसार यदि बजार १२५६ भन्दा माथि स्थिर रहेमा बजार अझ केही सकारात्मक हुन सक्ने संकेत गर्दछ। अर्को तत्कालीन प्रतिरोध १२६० देखि १२६६ मा रहेको र यदि बजार १२५३ भन्दा तल स्थिर रहेमा बजार अझ केही सच्चिन सक्ने भनिएको थियो।
आज बजारको पहिलो समयमा १२५६ को प्रतिरोधलाई तोड्न असफल रहेको र बजार सच्चिएर १२५३ को टेवा प्राप्त गरेपछि बजारले १२५६ को प्रतिरोधलाई निश्चित रुपमा तोड्न सफल भएको थियो। हाल बजार १२६० देखि १२६६ को प्रतिरोध क्षेत्रमा प्रवेश गरेको छ। आज बजार १२६० दशमलव १० विन्दुमा बन्द भएको छ।
चित्र नं १ : दैनिक मैनबत्ती प्रवृत्ति
चित्र नं १, नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति चित्रमा देखिए बमोजिम गत ३ सातादेखि घट्दो प्रवृत्तिमा रहेको र गत सातादेखि प्रवृत्तिहीन रहेको थियो। हाल बजार टेवा क्षेत्रमा रहेको देखिन्छ। आजको मैनबत्तीले बजारमा क्रेताको चाप रहेको र अर्को कारोबार दिन पनि केही समयका लागि क्रेताको चाप रहन सक्ने संकेत गर्दछ। परिमाण भने सामान्य रहेको छ।
चित्र नं.२ : ५ मिनेट मैनबत्ती प्रवृत्ति
चित्र नं.२, दुई दिनको कारोबार कस्तो रह्यो भनि हेर्नलाई ५ मिनेट समयावधिका मैनबत्तीलाई प्रयोग गरिएको छ र बजार आज सकारात्मक देखिएको छ।
आज नेप्सेको प्रवृत्ति ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए) लाई तोड्न सफल रहेकाले बजार केही समयका लागि बढ्दो प्रवृत्तिमा हुन सक्ने संकेत गरेको छ। र, यो ईएमए हाल टेवाको रुपमा परिणत भएको छ। रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ७९ दशमलव ६४ अंकमा रहेको छ। आरएसआई र स्टोकास्टिक अक्सिलेटरले बजारको अन्तिम समयमा शेयर बढी खरिद भएको संकेत गरे पनि बजारमा खरिदकर्ताको चाप बलियो रहेको जनाएको छ।
निष्कर्ष
माथि उल्लेखित छोटो समयका नेप्से प्रवृत्ति र सूचकका आधारमा बजारले १२६० देखि १२६६ को प्रतिरोधलाई सामना गर्नुपर्ने हुन्छ। बजारको तत्कालीन टेवा १२५३ देखि १२५६ मा रहेको छ। यदि बजार १२५३ भन्दा तल स्थिर रहेमा बजार अझ केही सच्चिन सक्ने देखिन्छ र अर्को तत्कालीन सामान्य टेवा १२४६ मा रहेको देखिन्छ।