गृहमन्त्री बादलको दाबी–कुमार पौडेल प्रहरीसँगको मुठभेडमै मारिएका हुन्
काठमाडौं, असार ९ : गृहमन्त्री रामबहादुर थापा बादलले सर्लाहीका कुमार पौडेल प्रहरीसँगको मुठभेडमै मारिएको दाबी गरेका छन्।
प्रतिनिधिस....
काठमाडौं, असार ९ : गृहमन्त्री रामबहादुर थापा बादलले सर्लाहीका कुमार पौडेल प्रहरीसँगको मुठभेडमै मारिएको दाबी गरेका छन्।
प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबार बसेको बैठकमा पौडेल प्रहरीसँगको मुठभेडमै मारिएको दाबी गरको हुन्। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका सर्लाही जिल्ला इञ्चार्ज रहेका पौडेलको असार ५ गते प्रहरीसँगको मुठभेडमा मृत्यु भएको थियो।
पौडेल मारिएको घटनाबारे सांसदहरुले राखेका जिज्ञासाबारे जवाफ दिँदै गृहमन्त्री बादलले भने,‘विप्लव समूहबाट हँुदै आएका सशस्त्र गतिविधिलाई नियन्त्रण गर्नुपर्छ भन्ने नीतिअनुसार देशव्यापीरूपमा सो समूहका कार्यकर्तालाई नियन्त्रण गर्ने प्रक्रिया अघि बढिरहेको छ। यो समयमा कुमार पौडेलको प्रहरीसँगको भिडन्तमा पौडेल मारिएका हुन्।’
गृहमन्त्री थापाले सुरक्षाकर्मीबाट आएको स्थलगत जानकारीअनुसार स्थानीय व्यापारी, जनप्रतिनिधि लगायतसँग चन्दा मागेर त्रसित बनाएर समुदायमा सन्त्रास फैलाउँदै आएको पनि खुलेको बताए। तर, विप्लव समूहले भने पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर हत्या गरेको दाबी गर्दैैै आएको छ।
विप्लव समूहले उठाएका मुद्दालाई राजनीतिकरूपमै समस्या खोज्न वार्ता र संवादका लागि पहल भइरहेको गृहमन्त्री बादलले बताए।
तर, विप्लव समूह राजनीतिकरूपमा समस्या समाधान गर्ने पक्षमा नदेखिएको उनको भनाइ छ। देशमा फेरि द्वन्द्व चर्काएर प्राप्त उपलब्धि उल्टाउने षड्यन्त्र कतै राज्य संयन्त्रबाटै त भइरहेको त छैन भन्ने सांसदको जिज्ञासामा गृहमन्त्री थापाले अपराधीलाई कानूनी कठघरामा ल्याएर समाधान खोज्नु पर्छ भन्नेमा सरकार स्पष्ट रहेको बताए।
बैठकमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पनि पौडेलको प्रहरीसँगको मुठभेडमै मृत्यु भएको दाबी गरे। उनले मारिएका पौडेलेको आपराधिक र ध्वङ्सात्मक गतिविधिमा संलग्न भएका घटनाको फेहरिस्त समेत प्रस्तुत गरेका थिए।






