ओलीको आह्वानमा योगेशको स्वागत
एमाले अध्यक्ष केपी ओलीले आइतबार राति पार्टी एकताका लागि गरेको आह्वानको सचिव योगेश भट्टराईले स्वागत गरेका छन् ।
काठमाडौं, जेठ २३ : एमाले अध्यक्ष केपी ओलीले आइतबार राति पार्टी एकताका लागि गरेको आह्वानको सचिव योगेश भट्टराईले स्वागत गरेका छन् ।
‘अध्यक्ष केपी शर्मा ओलीले एमालेको एकताका लागि आज सार्वजनिक वक्तव्यमार्फत गर्नुभएको आह्वान मुलतः सकारात्मक छ । कार्यदलस्तरको छलफललाई यो वक्तव्यले पुनः निरन्तरता दिन बाटो खुलेको छ,’ भट्टराईले आफ्नो फेसबुक पेजमा लेखेका छन्, ‘पार्टीका जिम्मेवार नेताहरू सम्मिलित कार्यदलले स्पष्ट गर्नुपर्ने र मिलाउनुपर्ने थप विषयहरूलाई समाधान गर्ने छ ।’
सर्वोच्च अदालतमा विचाराधीन विषयमा सबै सम्भावनालाई ख्याल गर्दै र मुलतः संविधानको रक्षा, लोकतान्त्रिक प्रकृयाको निरन्तरता र पार्टी एकताको खातिर एउटा तार्किक निष्कर्षमा पुग्नु उपयुक्त हुने उनले बताएका छन् । ‘सारमा अध्यक्षको वक्तव्यले पार्टीको शीर्ष नेतृत्वका बीचमा सार्थक संवाद हुनेछ र एमालेको एकतालाई अक्षुण्ण राख्न मद्घत पुग्ने अपेक्षा गर्छु । हजार माइलको यात्रा पहिलो पाइलाबाट नै सुरु हुन्छ,’ भट्टराईले भनेका छन् ।











