नेपालमा २४ घण्टाका लागि सबै विदेशी टेलिभिजन च्यानल बन्द
काठमाडौं, असार ९ : केबल टेलिभिजन महासंघले सबै विदेशी टेलिभिजन च्यानल बन्द गराएको छ। क्लिन फिडको विरोधमा महासंघले सोमबार दिउँसो तीन बजेदेखि विदेशी....

काठमाडौं, असार ९ : केबल टेलिभिजन महासंघले सबै विदेशी टेलिभिजन च्यानल बन्द गराएको छ। क्लिन फिडको विरोधमा महासंघले सोमबार दिउँसो तीन बजेदेखि विदेशी च्यानल बन्द गरेको हो।
सरकारले राष्ट्रिय सभामा दर्ता गराएको विज्ञापन विधेयकमा राखिएको क्लिन फिडको प्रावधानको विरोध गर्दै केबल टिभी व्यवसायीले विदेशी च्यानल बन्द गरेका हुन्। भोलि दिउँसो ३ बजेसम्म लागि विदेशी च्यानल बन्द गरिएको केबल टेलिभिजन महासंघका अध्ययक्ष सुधिर पराजुलिले बताए।
नेपालमा प्रसारण हुने ८५ प्रतिशत टेलिभिजन विदेशी रहेको उल्लेख गर्दै अध्यक्ष पराजुलीले भने, ‘इन्डियन ब्रोडकास्टर फोरमले नेपाललाई मात्रै क्लिन फिड दिन व्यवहारिक र व्यवसायिक रूपमा असमर्थ हुनेछ। त्यस्तो अवस्थामा करोडौं लगानी डुब्ने छ।’
विधेयक आएपछि विदेशी च्यानललाई बन्द गर्दा त्यसको असर नेपाली च्यानलमा कस्तो पर्छ भनेर परीक्षण गर्नका लागि पनि आज बन्द गरिएको इन्टरनेट एसोसियसनका अध्ययक्ष भोजराज भट्टले बताए। यदि विज्ञापन विधेयक पास भएमा (क्लिन फिड) विदेशी च्यानेलले नेपालमा विज्ञापन बजाउन पाउने छैनन्। विज्ञापन बजाउनै परेमा नेपालामै उत्पादन गरेका विज्ञापनमात्र प्रशारण वा बजाउने पाइने विधेयकमा उल्लेख गरिएको छ।
राष्ट्रिय सभामा छलफलका क्रममा रहेको विज्ञापन विधेयकको दफा ६ मा नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरूले सरकारले राजपत्रमा सूचना प्रकाशन गरी तोकेको मितिदेखि विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्नुपर्ने प्रावधान राखिएको छ।
सोही दफाको उपदफा २ मा विदेशी विज्ञापनलाई नेपालका सञ्चार माध्यमले प्रसारण गर्दा डबिङ गरी प्रसारण गर्न नपाइने व्यवस्था गरिएको छ।











