माओवादी केन्द्रले फिर्ता लियो प्रदेश १ सरकारलाई दिएको समर्थन
विराटनगर, जेठ २३ : माओवादी केन्द्रले प्रदेश १ सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। समर्थन फिर्ता भए पनि उक्त एमालेको स्पष्ट बहुमत भएकाले...
विराटनगर, जेठ २३ : माओवादी केन्द्रले प्रदेश १ सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। समर्थन फिर्ता भए पनि उक्त एमालेको स्पष्ट बहुमत भएकाले सत्ता समीकरणमा भने असर पर्ने देखिन्न।
प्रदेश १ प्रदेशसभा ९२ सदस्यीय छ। जसमा एमालेका ५१, कांग्रेसको २१ र माओवादी केन्द्रका १५ र जसपाका तीन, राप्रपा र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चसँग एकएक सांसद छन्।
यसअघि उक्त सभा ९३ सदस्यीय थियो। एमालेमा प्रवेश गरेको भन्दै माओवादी केन्द्रले एकजनालाई पदबाट हटाएको थियो। बहुमतका लागि ४७ मत आवश्यक पर्नेमा एमाले बाहेकका दलहरूसँग ४१ मत मात्रै छ।
सोमबार दिउँसो २ बजेट अधिवेशन सुरु हुने भएकाले त्यसको अघिल्लो दिन (आज) नै माओवादी केन्द्रले समर्थन फिर्ता लिएको हो।
समर्थन फिर्ता लिएको जानकारी प्रदेशसभा सचिवालयमा गराइएका माओवादी संसदीय दलका एक सदस्यले बताए।
गत पुस ५ को प्रतिनिधिसभा विघटनपछि त्यतिबेला अस्ूितत्वमा रहेको नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल समूहले पुस १२ गते मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको थियो।
तर फागुन २३ गते सर्वोच्च अदालतको फैसलाअनुसार नेकपा एकता भङ्ग भई एकीकरणअघिका पार्टी ब्युँतिएपछि चैत २३ गते माओवादी केन्द्रले अविश्वासको प्रस्ताव फिर्ता लिएको थियो।











