कार्यपालिकाले सिध्याउन खोजेको संविधान न्यायपालिकाले बचाउनुपर्छ : टीकाराम भट्टराई
काठमाडौं, जेठ २३ : वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले कार्यपालिकाले संविधान सिध्याउन खोजेको आरोप लगाउँदै न्यायपालिकाले त्यसलाई बचाउनुपर्नेमा जोड दिएका छन्।आइतबार संवैभानिक इजलासमा प्रतिनिधिसभा...
काठमाडौं, जेठ २३ : वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले कार्यपालिकाले संविधान सिध्याउन खोजेको आरोप लगाउँदै न्यायपालिकाले त्यसलाई बचाउनुपर्नेमा जोड दिएका छन्।
आइतबार संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा भइरहेको बहसमा बोल्दै उनले तत्कालीन राजा ज्ञानेन्द्र शाहको शाही शासन र पञ्चायतकालमा समेत नझुकेको न्यायालयले अहिलेको परिस्थितिमा ध्वस्तजस्तै बनिसकेको संविधान बचाउनुपर्ने बताएका हुन्।
कार्यपालिकाले न्यायमा अवरोध गर्न नपाउने उनको भनाइ थियो। जस्तोसुकै कठिन परिस्थितिमा पनि संविधान बचाउने क्षमता न्यायालयले नगुमाएको उनले बताए। कुन न्यायाधीश इजलासबाट हट्ने/हटाउने भन्ने विषयमा सरकारी पक्षले प्रश्न उठाउन नपाउने उनको स्पष्टोक्ति थियो।
प्रतिनिधिसभा विघटनको मुद्दामा सुनुवाइ गर्न गठित संवैधानिक इजलासलाई लिएर विवाद भइरहेको छ। आइतबार प्रधानन्यायाधीशले वरिष्ठताका आधारमा नयाँ इजलास गठन गरेका थिए।
सरकार पक्षका कानुन व्यवसायीहरू नवगठित इजलासको विरुद्धमा उत्रिएका छन्। इजलासमा बोल्दै महान्यायाधिवक्ता रमेश बडालले प्रतिनिधिसभाको विघटनको मुद्दामा न्यायाधीशहरु दीपककुमार कार्की र डा. आनन्दमोहन भट्टराई अगल हुनुपर्ने माग राखेका थिए।











