संसद् विघटनविरुद्धका मुद्दा हेर्न वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन
नवगठित इजलासमा प्रधानन्यायाधीश जबरासहित न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खडका, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई छन् ।
काठमाडौं, जेठ २३ : प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले प्रतिनिधिसभा विघटनविरुद्धका रिटहरूको सुनुवाइ गर्न वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गरेका छन् ।
नवगठित इजलासमा प्रधानन्यायाधीश जबरासहित न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खडका, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई छन् ।
यसअघि १४ जेठमा गठित पाँच सदस्यीय इजलासमा न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठमाथि प्रश्न उठेपछि सुनुवाइ अवरुद्ध भएको थियो ।
१८ जेठको संवैधानिक इजलासमा प्रधानन्यायाधीश जबराले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सुनुवाइका लागि वरिष्ठताका आधारमा न्यायाधीश राखेर संवैधानिक इजलास तोक्ने प्रतिबद्धता जनाएका थिए ।
२१ जेठमा नागरिकता अध्यादेशविरुद्ध परेका रिटहरू सुनुवाइ गर्न प्रधानन्यायाधीश जबराले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गरेका थिए ।
प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत ७ जेठमा प्रतिनिधिसभा विघटन गरेकी थिइन् । त्यसविरुद्ध एक सय ४६ जना सांसदहरू सहित ३० वटा रिट परेका छन् ।











