Kathmandu Press

विप्लवका जिल्ला इन्चार्ज मारिएको घटना छानविन गर्न गृहलाई निर्देशन

काठमाडौं, असार ९ : प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल म....

विप्लवका जिल्ला इन्चार्ज मारिएको घटना छानविन गर्न गृहलाई निर्देशन

काठमाडौं, असार ९ : प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल मारिएको घटना छानविन गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ।

आज सिंहदरबारमा बसेको संसदको राज्य व्यवस्था समितिको बैठकले घटनाको छानविन गरेर एक साताभित्र प्रतिवेदन बुझाउन गृह मन्त्रालयलाई निर्देशन दिएको हो। गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र आईजीपी सर्वेन्द्र खनालसँग घटनाबारे जानकारी लिएको समितिले एक साताभित्र सत्य–तथ्य प्रतिवेदन बुझाउन निर्देशन दिएको छ।

विप्लवका जिल्ला इन्चार्ज पौडेलको प्रहरीको गोली लागेर असार ५ गते लालबन्दीमा मृत्यु भएको जनाएको थियो। प्रहरीलाई आक्रमण गरेपछि जवाफी कारबाहीको क्रममा पौडेल मारिएको सरकारको दाबी छ।

तर, सांसदहरूले त्यसमा शंका गरेका छन्। त्यसको छानविन हुनुपर्ने माग गरेका छन्।

आजको बैठकमा गृहमन्त्री थापाले विप्लवका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको मृत्युबारे छानबिन गर्ने प्रतिबद्धता व्यक्त गरे। गृहमन्त्री थापाले तल्लो तहबाट पौडेल प्रहरीसँगको मुठभेडमा मारिएको भन्ने रिपोर्ट आएको भन्दै यदि मुठभेडमा नमारिएको भए त्यसबारे छानबिन हुने स्पष्ट पारे।

उनले विप्लवका कार्यकर्ताको हत्या गर्ने नीति सरकारको नरहेको बताए। वार्ताबाटै समस्या समाधान गर्ने सरकारको पहिलो रोजाइ भएको र त्यसको पहल पनि भइरहेको गृहमन्त्री थापाको भनाइ थियो।

बैठकमा सत्तारुढ र विपक्षी दलका सांसदहरूले कुमार पौडेलको मृत्यु मुठभेडमा नभई प्रहरीले नियन्त्रणमा लिएर हत्या गरिएको आरोप लगाएका थिए। नेकपाका सांसद जनार्दन शर्माले घटनाको प्रकृति हेर्दा नियन्त्रणमै लिएर हत्या गरेको जस्तो देखिएको बताए।

नियन्त्रणमा लिएर व्यक्ति हत्या गर्ने कुराको वकालत गर्न नसकिने भएकाले विप्लवसँग तत्काल वार्ता गर्नुपर्ने उनको भनाइ थियो। कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडुले पनि विप्लवका क्रियाकलाप नियन्त्रण गर्ने नाममा असंवैधानिक र मानवअधिकार हनन् गर्ने काम नगर्न सरकारलाई सचेत गराए।

प्रकाशित मिति: १२:३१ बजे, सोमबार, असार ९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्