‘महतोका अभिव्यक्तिमा ओलीले जवाफ दिनुपर्छ’
एमालेको नेपाल–खनाल समूहले उपप्रधानमन्त्री राजेन्द्र महतोका पछिल्ला अभिव्यक्तिमा प्रधानमन्त्री केपी ओलीले जवाफ दिनुपर्ने बताएको छ ।
काठमाडौं, जेठ २२ : एमालेको नेपाल–खनाल समूहले उपप्रधानमन्त्री राजेन्द्र महतोका पछिल्ला अभिव्यक्तिमा प्रधानमन्त्री केपी ओलीले जवाफ दिनुपर्ने बताएको छ ।
उक्त समूहका १५ जना स्थायी समिति सदस्यहरूले शनिबार साँझ विज्ञप्ति प्रकाशित गर्दै यस्तो माग गरेको हो । विज्ञप्तिमा झलनाथ खनाल, माधवकुमार नेपाल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण बिष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने, रघुजी पन्त, बेदुराम भुसाल, अमृतकुमार बोहरा र प्रमेश हमालको हस्ताक्षर छ ।
‘प्रधानमन्त्री केपी ओलीबाट उपप्रधानमन्त्री पदमा नियुक्त राजेन्द्र महतोले सरकारमा जानासाथ विगतमा दुंगो लागिसकेको तथा संविधानसभा र नेपाली जनताबाट अस्वीकृत नेपाललाई बहुराष्ट्रिय राज्य बनाउने कुरालाई पुनः दोहो¥याई यसका लागि कथित मुक्ति संग्रामको कुरा गरी राष्ट्रिय हित र अखण्डताविरोधी अभिव्यक्ति दिनु निन्दनीय छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्तो अभिव्यक्ति संविधानको धारा ३ मा उल्लेखित ‘बहुजातीय, बहुभाषिक, बहुधामिएक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो’ भन्ने व्यवस्थाको विरुद्धमा छ ।’
विज्ञप्तिमा थप उल्लेख छ, ‘यो कुनै पनि देशभक्त नेपालीलाई स्वीकार्य हुन सक्दैन । उपप्रधानमन्त्रीको संविधानविरोधी उक्त अभिव्यक्तिबारे प्रधानमन्त्री केपी ओलीबाट स्पष्ट गर्न माग गर्छौँ ।’











