Kathmandu Press

कोभिड प्रोटोकल मिच्दै जसपा सत्तापक्षको सम्मान कार्यक्रम

शुक्रबार मात्र सत्तामा गएको जसपाको महन्थ ठाकुर–राजेन्द्र महतो समूहले कोभिड–१९ विरुद्ध सरकारले लागू गरेको प्रोटोकल मिच्दै बबरमहलस्थित पार्टी कार्यालयमा सम्मान कार्यक्रम आयोजना गरेको छ।
कोभिड प्रोटोकल मिच्दै जसपा सत्तापक्षको सम्मान कार्यक्रम

काठमाडौं, जेठ २२ : शुक्रबार मात्र सत्तामा गएको जसपाको महन्थ ठाकुर–राजेन्द्र महतो समूहले कोभिड–१९ विरुद्ध सरकारले लागू गरेको प्रोटोकल मिच्दै बबरमहलस्थित पार्टी कार्यालयमा सम्मान कार्यक्रम आयोजना गरेको छ।

पार्टी कार्यालयको गजेन्द्रनारायण सिंह सभाकक्षमा नवनियुक्त मन्त्रीहरूको सम्मान र स्वागत कार्यक्रम उक्त समूहले आयोजना गरेको हो । कार्यक्रममा अध्यक्ष ठाकुर, वरिष्ठ नेता एवं उपप्रधान तथा सहरी विकास मन्त्री महतोलगायत मन्त्रीहरू र पार्टीका नेता सहभागी छन् ।

नवनियुक्त श्रम, रोजगार, तथा सामाजिक सुरक्षा मन्त्री विमल श्रीवास्तव भने कार्यक्रममा उपस्थित छैनन् । साँघुरो हलमा खचाखच नेता–कार्यकर्ताको भीड छ ।

काठमाडौं उपत्यकासहित देशका अधिकांश जिल्लामा कोरोना प्रसार रोक्न सरकारले निषेधाज्ञा जारी गरेको छ । यस्ता सभा, जमघट र भेटघाट नगर्न सम्बन्धित जिल्ला प्रकाशन कार्यालयहरूले निषेध गरेका छन् । तर, उक्त आदेश अवज्ञा गर्दै सत्तारुढ दलले नै कार्यक्रम आयोजना गरेको हो ।
 

प्रकाशित मिति: १६:४२ बजे, शनिबार, जेठ २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्