कांग्रेस नेता महेश्वरलाल श्रेष्ठको निधन, सभापति देउवाद्वारा दुःख व्यक्त
काठमाडौं, जेठ २२ : नेपाली कांग्रेस ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य एवं प्रजातन्त्र सेनानी महेश्वरलाल श्रेष्ठको ८४ वर्षको उमेरमा निधन भएको छ। उनको शनिबार...
काठमाडौं, जेठ २२ : नेपाली कांग्रेस ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य एवं प्रजातन्त्र सेनानी महेश्वरलाल श्रेष्ठको ८४ वर्षको उमेरमा निधन भएको छ। उनको शनिबार बिहान ८ बजे काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा निधन भएको कांग्रेसले जनाएको छ ।
कांग्रेस चितवनका सल्लाहकार समितिका संयोजकसमेत रहेका श्रेष्ठ पार्टीभित्र एक सरल र निष्ठावान् नेताका रुपमा चिनिन्थे । नेपालको प्रजातान्त्रिक आन्दोलनका एक अथक योद्धाका रूपमा परिचित उनी बीपी कोइराला, सुवर्णशमशेर राणा, गणेशमान सिंहलगायत कांग्रेस शीर्ष नेताहरुका सहयात्री थिए ।
नेपालमा प्रजातन्त्र प्राप्तिका लागि भएका संघर्ष र आन्दोलनहरुमा सक्रिय योगदान पुर्याएका उनी लामो समय प्रवासमा बस्नुका साथै जेलजीवनसमेत व्यतीत गरेका थिए। तत्कालीन पञ्चायती व्यवस्थाले उनको सर्वश्वहरण गरेको थियो।
उनको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन्। ‘नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा उहाँले पुर्याउनुभएको सक्रिय योगदान सदा स्मरणीय रहनेछ। उहाँको निधनप्रति म गहिरो दुःख व्यक्त गर्दछु,’ सभापति देउवाले भनेका छन्।
शोक वक्तव्य












