असारदेखि भौतिक उपस्थितिमै विद्यालय खोल्ने वीरगन्ज महानगरको निर्णय
वीरगन्ज, जेठ २२ : वीरगन्ज महानगरपालिकाले आउने असारदेखि विद्यार्थीको भौतिक उपस्थितिमै विद्यालय सञ्चालन गर्न लागेको छ। महानगरपालिकाले क्रमिक रूपमा विद्यालय खोल्दै जाने निर्णय...
वीरगन्ज, जेठ २२ : वीरगन्ज महानगरपालिकाले आउने असारदेखि विद्यार्थीको भौतिक उपस्थितिमै विद्यालय सञ्चालन गर्न लागेको छ। महानगरपालिकाले क्रमिक रूपमा विद्यालय खोल्दै जाने निर्णय गरेअनुरूप असार १ देखि कक्षा ८ देखि १२ सम्म कक्षा सञ्चालन हुनलागेको हो।
कोरोना महामारी मत्थर भइनसके पनि बालबालिकाको शैक्षिक क्षतिलाई जोगाउन विद्यालय सञ्चालन गर्न लागिएको महानगरपालिकाको भनाइ छ। वीरगन्जमा निजी र संस्थागत गरी २ सयको हाराहारीमा विद्यालय छन्।
महानगरपालिका शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्दलाल कर्णले सबै विभिन्न सात सर्तसहित सामुदायिक तथा संस्थागत विद्यालयहरूमा पत्राचार गरेर तोकिएके मितिदेखि विद्यालय सञ्चालनका लागि निर्देशन दिएका छन्।
भौतिक उपस्थितिमै पठनपाठनका लागि विद्यार्थीका अभिभावकहरुबाट लिखित सहमति लिने, स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य पालना गर्नुपर्ने, शिक्षण सिकाइका वैकल्पिक उपायहरू विद्यालय–अभिभावक सहमतिका आधारमा लागु गर्नेलगायत सर्त राखिएका छन्।
त्यस्तै असार १ देखि ७ गतेसम्म भर्नालगायतका व्यवस्थापकीय कार्य गर्ने/गराउने, असार ८ देखि १५ सम्म भर्ना सप्ताहअन्तर्गत घरदैलो कार्यक्रम सञ्चालन गर्ने, असार १५ पश्चात नियमति रुपले पठनपाठन सुरु गर्ने गराउने र कुनै विषम अवस्था देखा परे शैक्षिक प्रशासन महाशाखामा जानकारी गराई निर्देशनअनुसार गर्ने/गराउने पनि पत्रमा उल्लेख छ।











