ओलीले गरे मन्त्रिमण्डलमा व्यापक हेरफेर, नयाँ मन्त्रीले लिए सपथ
प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डलमा व्यापक हेरफेर गरेका छन् ।
काठमाडौं, जेठ २१ : प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डलमा व्यापक हेरफेर गरेका छन् ।
उपप्रधानमन्त्री ईश्वर पोखरेललगायत केही मन्त्री पदमुक्त भएका छन् । पदमुक्त हुनेमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाल, कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्याल, सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङ्फे, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्ना, वन तथा वातावरण मन्त्री प्रेमबहादुर आले र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलीकुमारी महतो छन् ।
प्रधानमन्त्री ओलीसँग रक्षा, गृह, वन तथा वातावरण, सञ्चार, सामान्य प्रशासन, कृषि र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय रहनेछन् ।
नवनियुक्त मन्त्रीहरूमा जसपाका वरिष्ठ नेता राजेन्द्र महतोलाई उपप्रधान तथा सहरी विकास मन्त्री बनाइएको छ । यस्तै, शरतसिंह भण्डारीलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ, अनिलकुमार झालाई खानेपानी र लक्ष्मणलाल कर्णलाई भूमिसुधार तथा व्यवस्था मन्त्री बनाइएको ।
उपेन्द्र यादव समूह छाडेर आएका विमल श्रीवास्तवलाई श्रम तथा रोजगार र सामाजिक सुरक्षा मन्त्री बनाइएको छ भने उमाशंकर अरगरियालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री दिइएको छ ।
यस्तै, एकवाल मियालाई युवा तथा खेलकुद र चन्दा चौधरीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनाइएको छ ।
जसपाबाट दुईजना राज्यमन्त्री बनेका छन् । तीमध्ये रेणुका गुरुङलाई महिला बालबालिका र चन्द्रकान्त चौधरीलाई ऊर्जा राज्य मन्त्री बनाइएको छ ।
एमालेबाट अर्थमन्त्री विष्णु पौडेललाई उपप्रधानमन्त्रीको समेत जिम्मा दिइएको छ । यस्तै, रघुवीर महासेठलाई उपप्रधान तथा परराष्ट्र मन्त्री बनाइएको छ । र, शेरबहादुर तामाङलाई स्वास्थ्यमन्त्री बनाइएको छ ।
भौतिक पूर्वाधार तथा पूर्वाधार मन्त्री वसन्त नेम्वाङ, शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ र कानून मन्त्री लीलानाथ श्रेष्ठ यथावत छन् ।











