Kathmandu Press

तनहुँ र सिन्धुपाल्चोकमा जेठ ३१ गतेसम्म लम्ब्याइयो निषेधाज्ञा 

काठमाडौं, जेठ २१ : कोभिड–१९ को सङ्क्रमण न्यूनीकरणका लागि तनहुँमा गरिएको निषेधाज्ञालाई चौथो पटक थप गरिइएको छ । कोभिडको जोखिम अझै कम नभएको...
तनहुँ र सिन्धुपाल्चोकमा जेठ ३१ गतेसम्म लम्ब्याइयो निषेधाज्ञा 

काठमाडौं, जेठ २१ : कोभिड–१९ को सङ्क्रमण न्यूनीकरणका लागि तनहुँमा गरिएको निषेधाज्ञालाई चौथो पटक थप गरिइएको छ । कोभिडको जोखिम अझै कम नभएको र समुदायमा व्यापक फैलिन सक्ने अवस्थालाई ध्यानमा राख्दै जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले निषेधाज्ञालाई यही जेठ ३१ गतेसम्म थप गर्ने निर्णय  गरेको हो ।

जिल्ला गत वैशाख २२ देखि ३१ गतेसम्म पहिलो, यही जेठ १ देखि १५ सम्म दोस्रो र जेठ १६ देखि २२ सम्म तेस्रो पटक निषेधाज्ञा गरिएको छ । तेस्रो पटक गरिएको निषेधाज्ञा भोलि शनिबार राति १२ बजे सकिदैछ ।

सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले कोभिड जोखिम कम नभएकाले निषेधाज्ञालाई निरन्तरता दिने निर्णय भएको जानकारी दिए। उनका अनुसार निषेधाज्ञा कडाईका साथ कार्यान्वयन गर्न स्थानीय तह लगायत सबै पक्षलाई अनुरोध गरिएको छ ।

यता, सिन्धुपाल्चोकमा पनि जेठ मसान्तसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । जिल्ला प्रशासन कार्यालयले जेठ ३१ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको हो । केन्द्रले जिल्ला बाहिरबाट आउने सर्वसाधारणलाई अनिवार्य क्वारेन्टिनमा बस्न पनि निर्देशन दिएको छ ।

जिल्लाका १२ वटै स्थानीय तहमा सङ्क्रमितको सङ्ख्या बढेपछि स्थानीय प्रशासनले निषेधाज्ञा बढाएको हो । यस अवधिमा दैनिक उपभोग्य वस्तु तरकारी, खाद्य, दूध, ग्यासका पसल बिहान सञ्चालन गर्न पाइने छ । जिल्लामा कोरोना भाइरसको सङ्क्रमण फैलिरहेको र समुदायस्तरमा फैलिनबाट जोगाउनका लागि निषेधाज्ञालाई निरन्तरता दिइएको प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिए ।

सो आदेशको पालना गर्न सम्पूर्ण व्यक्ति, सङ्घसंस्था, पेशाकर्मी, व्यवसायी तथा आम नागरिकको महत्वपूर्ण भूमिका हुने भन्दै आदेशको उल्लङ्घन गरेमा प्रचलित कानूनअनुसार कारवाही हुने जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकबाट जारी आदेशमा भनिएको छ । 

प्रकाशित मिति: १९:२४ बजे, शुक्रबार, जेठ २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्