राजेन्द्र महतोको नेतृत्वमा जसपा सरकारमा जाने, गृह मन्त्रालय नपाउने, आजै मन्त्रीहरूको शपथ हुने
काठमाडौं, जेठ २१ : जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्ष प्रधानमन्त्री केपी ओली नेतृत्वको कामचलाउ सरकारमा सहभागी हुने निश्चित भएको...
काठमाडौं, जेठ २१ : जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्ष प्रधानमन्त्री केपी ओली नेतृत्वको कामचलाउ सरकारमा सहभागी हुने निश्चित भएको छ।
उक्त पक्षबाट मन्त्री हुनेहरूले आज (शुक्रबार) साँझ पद तथा गोपनीयताको शपथ लिने जनाइएको छ। प्रधानमन्त्री ओली आठ मन्त्रालयसहित दुई मन्त्री जसपालाई दिन सहमत भइसके पनि त्यसलाई मूर्तरूप दिनेगरी सहमति हुन बाँकी भएकाले ओलीसँग छलफलका लागि अध्यक्ष ठाकुर शुक्रबार करिबकरिब दिनभरि नै प्रधानमन्त्री निवास बालुवाटारमै बसेका थिए।
प्रधानमन्त्री ओलीसँगको छलफलले निष्कर्षको रूप लिएसँगै पछि जसपा सरकारमा जान तयार भएको हो। ठाकुर पक्षका वरिष्ठ नेता राजेन्द्र महतोले गृह मन्त्रालय र अन्य नेताले महत्त्वपूर्ण मन्त्रालय दाबी गरेपछि समस्या देखिएको थियो। तर गृह भने जसपाले नपाउने भएको स्रोतको भनाइ छ।
जसपाका तर्फबाट नेता महतोले सरकारको नेतृत्व गर्ने र अनिल झा, राजकिशोर यादव, शरतसिंह भण्डारी, लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्ल, उमाशंकर अरगरिया, बिमल श्रीवास्तव, चन्दा चौधरी, एकबाल मियाँ, प्रमोद साह मन्त्री बन्ने सहमति भएको स्रोतको भनाइ छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, उद्योग, वाणिज्य तथा आपूर्ति, सहरी विकास, खानेपानी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा र युवा तथा खेलकुद मन्त्रालय जसपाले पाउने सहमति भएको जनाइएको छ।











