नेपालमा कोरोनाको नयाँ भेरियन्ट देखिएको छैन : डब्लुएचओ
काठमाडौं, जेठ २० : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नेपालमा कोरोना भाइरसको कुनै नयाँ भेरियन्ट नदेखिएको बताएको छ। बेलायती अखबार ‘डेली मेल’ ले बिहीबारको...
काठमाडौं, जेठ २० : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नेपालमा कोरोना भाइरसको कुनै नयाँ भेरियन्ट नदेखिएको बताएको छ।
बेलायती अखबार ‘डेली मेल’ ले बिहीबारको संस्करणमा ‘हाम्रो बिदालाई नेपाल भेरियन्टको खतरा’ शीर्षकमा समाचार प्रकाशन गरेको थियो।
त्यसमा प्रकाशित समाचारमा नेपालमा उत्पत्ति भएर युरोपभरि फैलिएको अनुमान गरिएको नयाँ म्युटेन्ट स्ट्रेनबारे मन्त्रीहरुलाई सचेत गराएको उल्लेख छ।
भारतमा उत्पत्ति भएको बी.१.१६७ भेरियन्ट नै नेपालमा दोस्रो लहरका रूपमा फैलिएको र त्यसक्रममा नयाँ भेरियन्ट बनेको अनुमान गर्दै डेलिमेलले आफ्नो समाचार प्रकाशन गरेको हो।
डब्लुएचओले हालसम्म नेपालमा अल्फा (बी.१.१.७), डेल्टा (बी.१.७१२.२) र काप्पा (बी.१.६१७.१) मात्र देखिएको र हाल डेल्टा (बी.१.७१२.२) चाहिँ भेरियन्ट सक्रिय रहेको जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट नदेखिएको बताएको छ। तर आधिकारिक रूपमा मन्त्रालयको स्पष्टोक्ति आइसकेको छैन।
नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट भेटिएको दाबी गर्दै बेलायती अखबार डेली मेलले गरेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बेलायत सरकारसँग त्यसबारे जानकारी माग गरेको छ।











