नेपाल समूहको केन्द्रीय कमिटी बैठक जारी
काठमाडौं, जेठ २० : एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक अहिले जारी छ। भर्चुअल माध्यमबाट भइरहेको बैठकमा नेताहरूले आफ्ना धारणा...
काठमाडौं, जेठ २० : एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक अहिले जारी छ। भर्चुअल माध्यमबाट भइरहेको बैठकमा नेताहरूले आफ्ना धारणा राखिरहेका छन्।
प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओली र नेपाल समूहका दोस्रो तहका नेताहरूबीच पार्टीको आन्तरिक विवाद समाधान गर्दै एकताको प्रयासस्वरूप निरन्तर वार्ता हुँदै आएका छन्।
यहीबेला नेपाल समूहले बैठक बसिरहेको हो। बैठकमा अनौपचारिक वार्तामा भइरहेका प्रगतिबारे विश्लेषण गर्दै आगामी रणनीति तय गर्ने बताइएको छ।
एमालेबाट निष्कासित नेता नेपालले एमाले एकता पहललाई समेत कायम राख्दै अन्य विभिन्न दलहरूसँगको छलफललाई पनि जारी राखेका छन्। आज बिहान मात्र उनी र माओवादी केन्द्रका प्रवक्ता नारायण काजी श्रेष्ठबीच भेटवार्ता भएको थियो।
नेपाल समूहले कैन्द्रीय कमिटी बैठक डाकेको विषयलाई लिएर एमाले ओली समूहले भने आपत्ति जनाएको छ। एमाले कार्यालय सचिव शेरबहादुर तामाङले प्रेस विज्ञप्ति नै जारी गरी नेता नेपालले बोलाएको बैठकमा सहभागी नहुन केन्द्रीय सदस्यहरूलाई सचेत गराएका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘पार्टी केन्द्रीय कमिटीका सदस्य कमरेडहरूलाई पार्टीको विधान र मुलुकको कानुन विपरीतको त्यस्ता क्रियाकलापमा सहभागी नहुने सूचित गर्दछु।’











