पार्टी एकता जोगाउन भइरहेको कसरत कमजोर पार्ने प्रयास भयो : गोकर्ण विष्ट

काठमाडौं, जेठ २० : नेकपा एमालेका नेता गोकर्ण विष्टले पार्टी एकता जोगाउन भइरहेको कसरतलाई कमजोर पार्ने प्रयास भइरहेको भन्दै आक्रोश व्यक्त गरेका छन्। उनले केही सञ्चारमाध्यममा एमाले एकता जोगाउने प्रयासलाई कमजोर पार्ने दुराशयले आफ्नो नाम पनि जोडिएकामा आपत्ति जनाएका हुन्।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘नेकपा एमालेको एकता जोगाउन भैरहेको प्रयासलाई कमजोर पार्ने दुराशयले मेरो नाम समेत जोडेर केही सञ्चार माध्यमहरुमा भ्रमपूर्ण समाचार प्रकाशित गरिएका छन्। एकताका लागि गरिएका इमान्दार पूर्ण प्रयासहरूलाई कमजोर पार्न कसले, किन र कसका लागि यस्ता झुठा प्रचार गराउँदै छन्रु समयले नै बताउला।’
नेता विष्टले पार्टीलाई २०७५ साल जेठ २ गतेको अवस्थामा फर्काउन प्रयासरत रहेको पनि बताएका छन्। उनले लेखेका छन्, ‘पार्टी र जनसंगठनका सबै तहका कमिटीहरूलाई २०७५ जेठ २ गतेको पूर्ववत् अवस्थामा फर्काएर राष्ट्र, जनता, लोकतन्त्र र कम्युनिस्ट आन्दोलनको हितमा सही विचार र कार्यदिशा सहितको सबल एवं एकीकृत कम्युनिस्ट पार्टी निर्माण गर्ने हाम्रो चाहना हो। हामी यसमा निरन्तर प्रयत्नशील छौँ। अन्तिमसम्म लागिरहनेछौँ। पार्टीको सम्पूर्ण एकता नै हाम्रो विश्वास हो। हाम्रो अडान हो।’











