निषेधाज्ञा उल्लंघन गर्ने ३८८ पसललाई कारबाही
चितवन, जेठ १९ : कोरोना कहरका कारण स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाको अवज्ञा गरेको भन्दै जिल्लामा ३८८ व्यवसायीलाई कारबाही गरिएको छ। जिल्ला प्रशासन कार्यालयका सूचना...
चितवन, जेठ १९ : कोरोना कहरका कारण स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाको अवज्ञा गरेको भन्दै जिल्लामा ३८८ व्यवसायीलाई कारबाही गरिएको छ। जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खेमराज पौडेलका अनुसार निषेधाज्ञा उल्लङ्घन गरी व्यापार व्यवसाय सञ्चालन गरेकालाई कारबाही गरिएको हो ।
उनका अनुसार उनीहरुलाई एक हजारदेखि १० हजार रुपैयाँसम्म जरिवाना गरिएको छ। निषेधाज्ञाको समयमा स्थानीय प्रशासनले तोकेको समयभन्दा बढी व्यवसाय सञ्चालन गरेका उनीहरुलाई जरिवाना गराई सम्झाएर पठाइएको उनले बताए।
यस्तै निषेधाज्ञाको समयमा विनाकारण बजारमा हिँड्डुल गर्ने ११ हजार ७२० जनालाई होल्डिङ सेन्टरमा राखिएको छ । होल्डमा राखिएकामा मास्क नलगाई हिँड्डुल गर्ने पनि छन् । निषेधाज्ञाको समयमा अनावश्यक रुपमा बजारमा देखिएका सात हजार ७०० सवारी साधनलाई कारबाही गरिएको छ । त्यसमा चारपाङ्ग्रे सवारी साधन एक हजार ४४५ र दुईपाङ्ग्रे सवारी साधन छ हजार २६० रहेका छन् । उनीहरुलाई ५०० देखि एक हजार रुपैयाँसम्म जरिवाना गरिएको कार्यालयले जनाएको छ।
निषेधाज्ञा उल्लङ्घन गर्नेबाट कारबाहीस्वरुप २२ लाख ९१ हजार ४०० रुपैयाँ राजश्व सङ्कलन गरिएको छ । कोरोना भाइरसको सङ्क्रमणका कारण स्थानीय प्रशासनले गत वैशाख १७ गतेदेखि जिल्लामा निषेधाज्ञा जारी गरेको छ । जारी गरिएको निषेधाज्ञा तेस्रो पटकसम्म थप गरिएको समयसमेत यही जेठ २० गते सकिँदैछ ।
कोरोना सङ्क्रमणका कारण जिल्लामा २२१ जनाको मृत्यु भएको छ भने १३ हजार ८८९ सङ्क्रमित भएका छन् । सोमध्ये चार हजार ८४५ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार जिल्लाका विभिन्न अस्पतालमा उपचाररत १५०, होम आइसोलेशनमा रहेका चार हजार ६७९ र सार्वजनिक आइसोलेशनमा रहेका १६ सङ्क्रमित छन् ।











