Kathmandu Press

कोरोना संक्रमितको उपचारमा एक्मो विधिको प्रयोग, के हो एक्मो विधि?

'एक्मो एक प्रकारको प्रविधि हो। भेन्टिलेटरले शरिरमा अक्सिजन मात्र दिने हो। भेन्टिलेटरको प्रयोग गर्दा पनि बिरामीको स्वास्थ्यमा सुधार नआएमा एक्मो विधिको प्रयोग गरिन्छ।’
कोरोना संक्रमितको उपचारमा एक्मो विधिको प्रयोग, के हो एक्मो विधि?

काठमाडौं, जेठ १८ : कोरोना संक्रमितको उपचारका लागि एक्मो (एक्स्ट्राकर्पोरियल मेम्ब्रेन अक्सिजनेसन) विधिको प्रयोग गर्न थालिएको छ। 

संक्रमितको उपचारमा भेन्टिलेटरले समेत काम गर्न नसक्दा एक्मो प्रविधिको प्रयोग गरिने संक्रामक रोग विशेषज्ञ डा. जनक कोइराला बताउँछन् । ‘एक्मो एक प्रकारको प्रविधि हो। भेन्टिलेटरले शरिरमा अक्सिजन मात्र दिने हो। भेन्टिलेटरको प्रयोग गर्दा पनि बिरामीको स्वास्थ्यमा सुधार नआएमा एक्मो विधिको प्रयोग गरिन्छ,’ उनले भने।

एक्मो विधिले कसरी काम गर्छ?

Hardik ivf

एक्मो विधि एक प्रकारको उपकरण हो। उक्त उपकरणमा मानिसको फोक्सो जस्तै काम गर्ने छुट्टै फोक्सो बनाएर राखिन्छ। डा. कोइराला भन्छन् ‘भेन्टिलेटरले मानिसको नाक र मुखबाट शरिरमा अक्सिजन पु¥याउँछ। तर, एक्मो विधिमा हाम्रो फोक्सो जस्तै बाहिर मेसिनमै फोक्सो (एक्सटर्नल लङ) बनाएर शरिरबाट रगत लिन्छ। त्यसपछि मेसिनमा बनेको फोक्सोको माध्यमबाट शरिरबाट लिएको रगतलाई शुद्ध पारी अक्सिजनसहितको रगत पुन शरीरमा पठाइन्छ ।’ 

तर भेन्टिलेटरको तुलनामा एक्मो विधिबाट उपचार गर्दा बिरामीे बाँच्ने सम्भावना  कम हुने उनले बताए । प्रायः फोक्सो पूर्ण रुपमा बिग्रिसकेका बिरामीहरूलाई यो विधिबाट उपचार गरिन्छ।

डा.कोइरालाका अनुसार यसको प्रकृया मृगौला सम्बन्धि रोगका बिरामीहरूले गर्ने डायलासिसको जस्तै नै हुन्छ। एक्मो विधिबाट उपचार गर्दा कति समय लाग्छ भन्ने यकिन गर्न नसकिने उनले बताए। फोक्सोले काम गर्न थालेपछि उक्त उपकरणलाई हटाउन सकिने उनको भनाइ छ। कोरोना भाइरसका कारण फोक्सो सुन्निएको कम नभएसम्म एक्मोको प्रयोग गर्न जरुरी रहेको उनले बताए। 

यस्तै कोरोनाका विरामीको उपचारमा प्रयोग हुनुअघि एक्मो विधि विकसित देशहरूले मुटु तथा फोक्सो प्रत्यारोपणको लागि प्रयोग गर्दै आएका थिए । मुटु तथा फोक्सो सम्बन्धि रोगले स्वास्थ्य अवस्था जटिल बनाएको खण्डमा औषधि उपचार नहुन्जेल एक्मो विधिको प्रयोग गरिँदै आएको उनले बताए। 

विकसित मुलुकमा एक्मो विधि कोरोनाका बिरामीलाई उपचार गर्न समेत प्रयोग गर्न थालिए पनि निकै खर्चिलो भएकाले नेपालमा भने सम्भावना कम रहेको डा.कोइराला बताउँछन् । 

‘नेपालमा एक्मो उपकरण नै कम हनु, उपचारमा पनि निकै खर्चिलो र यसको प्रयोगले धेरैलाई बचाउन पनि नसकिने हुँदा नेपालमा यसको खासै उपयोगिता देखिँदैन,’ उनले भने। यसैकारण पनि कोरोना संक्रमितको उपचारका लागि अक्सिजन थेरापी र भेन्टिलेटर नै उपयुक्त हुने उनले बताए।
 

प्रकाशित मिति: १४:४५ बजे, मंगलबार, जेठ १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्