Kathmandu Press

सफाइ अभियानमा स्थानीय सरकारको बेवास्ता

काठमाडाैं, असार ७ : ‘राष्ट्रका लागि दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ उपत्यकाका नदी, चक्रपथलगायत देशभरका मुख्य शहरमा सफाइ अभियान ....

सफाइ अभियानमा स्थानीय सरकारको बेवास्ता
फाइल

काठमाडाैं, असार ७ : ‘राष्ट्रका लागि दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ उपत्यकाका नदी, चक्रपथलगायत देशभरका मुख्य शहरमा सफाइ अभियान जारी छ। जनस्तरबाट सफाइ भइरहे पनि तीनै तहका सरकारले नीतिगत परिवर्तनका लागि खासै ध्यान नदिएको अभियानकर्मीको गुनासो छ।
 
विसं २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान शुरु भएसँगै देशभर सफाइ अभियानले जागरणको रुप लिएको छ। सफाइकै लागि स्थापना भएका सरकारी निकायसमेत औपचारिकताभन्दा माथि उठ्न सकेका छैनन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका लागि सफाइ कार्यविधि जारी गरे पनि काम भने हुन सकेको छैन। स्थानीय सरकार सञ्चालन ऐनअनुसार सफाइ स्थानीय तहको जिम्मेवारी भए पनि आवश्यक मात्रामा ध्यान जान सकेको देखिँदैन। 

वाग्मती सफाइ महाअभियानको यो हप्ता शङ्खमूल मनोहरा दोभानमा सफाइ गरियो। सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, काठमाडौँ महानगरपालिकालगायत २४ संस्थाका ५०० भन्दा बढी अभियानकर्मीको सक्रियता थियो।
 
सफाइबाट छ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अधिकार सम्पन्न वाग्मती समितिकी सञ्चालक समिति सदस्य माला खरेलले जानकारी दिइन्। सफाइमा अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष नरेन्द्रराज बस्नेतलगायत अभियानकर्मी पनि सक्रिय थिए।  रुद्रमती सफाइको २७३औँ हप्तामा रातोपुलबाट कालोपुल क्षेत्रका नदी किनारमा रोपिएका बिरुवा संरक्षणका लागि सार्वजनिक आह्वान गरियो। काठमाडौँ महानगरपालिका–३० र रुद्रमती सरोकार समाजले संयुक्त रुपमा स्थानीय घरधनीलाई पत्र लेखी बिरुवा संरक्षणको जिम्मेवारी दिएको अभियानकर्मी रोहित गिरीले जानकारी दिए।

वडाध्यक्ष दलबहादुर कार्कीले नदी किनारका बिरुवा संरक्षणका लागि समुदायको सहयोग माग गरिएको बताए। बिरुवा नष्ट गर्नेलाई वडा कार्यालयले दण्डित गर्ने उनको भनाइ थियो। रुद्रमतीको सेतोपुलबाट सिम्रिक पुलसम्मको नदी किनारमा आजदेखि विशेष सफाइ अभियान शुरु भएको छ। महानगरपालिका–२९ को नेतृत्वमा अभियानकर्मी चित्र सुनुवारलगायत आज यस क्षेत्रको सफाइमा सक्रिय हुनुभएको थियो। रुद्रमती सफाइ अभियानले २७३ हप्ता पार गरे पनि आशा गरे अनुसार नदी सफा हुन सकेको छैन। आजको रुद्रमती सफाइबाट करीब एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको थियो। 
 
विष्णुमती सफाइ अभियानको २४६ हप्तामा नेपालटारबाट डाँडागाउँसम्मको नदी किनारमा सफाइ गरियो। चारघरे योग साधना केन्द्र नेपाल समेत सहभागी भएको कार्यक्रममा तीन वटै सुरक्षा निकायलगायत संस्था एवं स्थानीयवासी गरी ४०० भन्दा बढीको सक्रियता थियो। सफाइबाट चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी शोभाकान्त पाण्डेले जानकारी दिए। वाग्मती तिलगङ्गा क्षेत्र सफाइको २२०औँ हप्तामा त्यस क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो। तिलगङ्गा महिला समूहको सक्रियतामा भएको सफाइमा महिलाको उल्लेख्य सहभागिता रहेको सफाइ संयोजक आशा पाण्डेले जानकारी दिइन्। 
 
मनोहरा नदी सफाइको ११८ औँ हप्तामा कोटेश्वर क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो। सफाइमा १०० जनाभन्दा बढी अभियानकर्मीको सक्रियता रहेको संयोजक चन्द्रप्रसाद दङ्गालले जानकारी दिए।  चक्रपथ सफाइ अभियानको ११६औँ हप्तामा बालाजु क्षेत्रमा सफाइ गरी सात मेट्रिक टन फोहर व्यवस्थापन गरियो। २५० जनाभन्दा बढी अभियानकर्मीको सक्रियतामा भएको सफाइबाट वर्षौँदेखि थुपारिएको फोहर उठाइएको अभियानकर्मी रेणुका गुरुङले सुनाइन्। 
 
यसैगरी आलोकनगर सफाइको ११६औँ हप्तामा त्यस क्षेत्रमा सफाइका साथै घरदैलो जनचेतना अभियान पनि चलाइयो। एक मेट्रिक टन फोहर व्यवस्थापन गरिनुका साथै त्यस क्षेत्रमा रोपिएका गाँजा नष्ट गरिएको सफाइ संयोजक प्रमिला पौडेलले सुनाइन्।  चक्रपथ–बाफल खण्ड सफाइको ९७ औँ हप्तामा कलङ्कीचोक क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो। सडकमा जमेको धुलो दुई ट्याङ्कर पानी हालेर पखालिएको अभियानकर्मी ताराबहादुर कुँवरले जानकारी दिए। रासस

प्रकाशित मिति: १४:०९ बजे, शनिबार, असार ७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्