Kathmandu Press

परीक्षणमा कमी आउँदा कोरोना संक्रमितको संख्या घट्दो

काठमाडौं, जेठ १७ : कोरोनाको दोस्रो लहर सुरु भएसँगै निषेधाज्ञा सुरु गरिएपछि सरकारले कोरोना परिक्षणको दायरा पनि बढाएको थियो। जसले गर्दा कोरोना संक्रमितको...
परीक्षणमा कमी आउँदा कोरोना संक्रमितको संख्या घट्दो

काठमाडौं, जेठ १७ : कोरोनाको दोस्रो लहर सुरु भएसँगै निषेधाज्ञा सुरु गरिएपछि सरकारले कोरोना परिक्षणको दायरा पनि बढाएको थियो। जसले गर्दा कोरोना संक्रमितको संख्यामा ह्वात्तै वृद्धि आएको थियो। अहिलेको अवस्था हेर्दा संक्रमितको संख्यामा कमी आइरहेको छ। परीक्षणमा कमी आएकै कारण संंक्रमितको संख्या घटेको विज्ञहरू बताउँछन्।

सरकारले निषेधाज्ञा सुरु गरेको समयमा दैनिक १४ हजारको हाराहारीमा कोरोना परीक्षण गर्दा लगभग ४ हजारजनामा कोरोना संक्रमण पुष्टि हुन्थ्यो। तर वैशाख २८ गते सरकारले देशभर २१ हजार ३ सय १६ जनामा कोरोना परीक्षण गर्दा एकै दिन ९ हजार ४ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। सोही दिनको रोनाका कारण २ सय २५ जनाको मृत्यु भएको थियो। 

यस्तै जेठ ३ गते देशभर २२ हजार ८७ जनामा परिक्षण गर्दा ९ हजार २ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यस दिन २ सय १४ जनाको मृत्यु भएको थियो।

जेठ १६ गते देशभर जम्मा ४ हजार ३६९ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएपछि निषेधाज्ञाका कारण कोरोना संक्रमितको संख्या ह्वात्तै घटेको देखिन्छ। तर उक्त दिन जम्मा १२ हजार ७ सय ७० जनामा मात्र परीक्षण गरेको हुँदा कोरोना परीक्षण नै कम हुनाले संक्रमितको संख्या स्वतः घटेको पुष्टि हुन्छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांकमा दैनिक पहिचान हुने संक्रमितको संख्या करिब ५० प्रतिशतले घटेको देखाउँछ। तर पीसीआर परीक्षण पनि ५० प्रतिशतकै हाराहारीमा घटेको छ। जसकारण संक्रमित कम देखिएको मन्त्रालयको तथ्यांकबाट स्पष्ट हुन्छ।

आज (सोमबार) अपराह्न सार्वजनिक गरिएको पछिल्लो २४ घन्टाको कोरोना अपडेट हेर्दा देशभर कुल १७ हजार ४ सय ८० जनामा कोरोना परीक्षण ४ हजार ७ सय ६२ जनामा संक्रमण पुष्टि भएको छ। सोही अवधिमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या भने १ सय १४ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ। 

पछिल्लो १० दिनको मात्र तथ्यांक हेर्दा पनि कोरोना परीक्षण संख्या क्रमशः घटेको छ। जेठ ७ गते २३ हजार २ सय २६ जनाको पीसीआर परीक्षण गरिएकोमा जेठ १६ मा आइपुग्दा यो संख्या १२ हजार ७ सइ ७० मा झरेको छ । कोरोना संक्रमितको संख्या पनि ८ हजार ६ सय ७ बाट ४ हजार ३ सय ६९ मा झरेको छ ।

पछिल्लो समय नयाँ संक्रमित घट्दै जानुमा कोरोना भाइरसको प्रभाव घट्दै गइरहेको भनी आँकलन गरिएको पाइन्छ । तर उल्लिखत तत्थ्यांकका आधारमा हेर्दा परीक्षणमा आएको कमीका कारण कोरोना संक्रमितको संख्या घटेको बुझ्न सकिन्छ । सबैतिर पुगेर लक्षण देखिएका बिरामीमा परीक्षण गर्ने र लक्षण देखिएका सबैले परीक्षण गराउने हो भने संक्रमितहरू अझै धेरै भेटिने विज्ञहरू बताउँछन्। 
 

प्रकाशित मिति: १८:२८ बजे, सोमबार, जेठ १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्