Kathmandu Press

रेशम चौधरीको खुट्टामा साङ्लो लगाउनेलाई कारबाही गर्न प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं, असार ७  : प्रधानमन्त्री केपी शर्मा ओलीले वीर अस्पतालमा उपचाररत रेशम चौधरीको खुट्टामा लगाइएको फलामको साङ्लो तत्काल हटाउन निर्देशन द....

रेशम चौधरीको खुट्टामा साङ्लो लगाउनेलाई कारबाही गर्न प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं, असार ७  : प्रधानमन्त्री केपी शर्मा ओलीले वीर अस्पतालमा उपचाररत रेशम चौधरीको खुट्टामा लगाइएको फलामको साङ्लो तत्काल हटाउन निर्देशन दिएका छन्। 

अस्पतालमा उपचाररत चौधरीको खुट्टामा साङ्लो लगाएर राखिएको घटनाप्रति चासो व्यक्त गर्दै प्रधानमन्त्री ओलीले मुख्यसचिव लोकदर्शन रेग्मीलाई टेलिफोन गरी तत्काल हटाउन निर्देशन दिएका हुन्। 

प्रधानमन्त्री ओलीले अस्पतालको बेडमै चौधरीको खुट्टामा साङ्लो लगाउनेलाई तत्काल कारबाही गर्न पनि मुख्यसचिव रेग्मीलाई निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।

‘उपचारका लागि अस्पताल भर्ना भएका चौधरीको खुट्टामा साङ्लो लगाएर बेडमा राखिएको घटनाबारे प्रधानमन्त्री ओलीले थाहा पाउने वित्तिकै मुख्यसचिवज्यूलाई कसले खुट्टामा साङ्लो लगाएको हो त्यो पत्ता लगाएर कारबाही गर्न निर्देशन दिनु भएको छ,’ उनले भने। 

प्रतिनिधिसभा निर्वाचनमा वारेसनामार्फत उम्मेदवारी दर्ता गराएर चौधरी कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए। तर, टिकापुर हत्याकाण्डमा अदालतले दोषी ठहर गर्दै उनलाई जेल सजायको फैसाला भएपछि डिल्लीबजारस्थित कारागारमा राखिएको छ। मेरुदण्डमा समस्या आएपछि चौधरीलाई उपचारका लागि वीर अस्पतालमा भर्ना गरिएको छ।

अस्पतालकै बेडमा पनि चौधरीलाई खुट्टामा साङ्लो लगाएर राखिएको तस्वीर बाहिरिएपछि सामाजिक सञ्जालमा सर्वत्र विरोध भएको थियो। 

प्रकाशित मिति: १२:५९ बजे, शनिबार, असार ७, २०७६