Kathmandu Press

काभ्रेका तीन अस्पताललाई भेन्टिलेटर र अक्सिजन कन्सन्ट्रेटर  सहयोग 

धुलिखेल, जेठ १७ : कोरोना भाइरस (कोभिड-१९) महामारीको समयमा जनताको जीवन रक्षाका लागि सक्रिय काभ्रेका तीनवटा अस्पताललाई स्वास्थ्य उपकरण सहयोग प्राप्त भएको छ।नेपाल...
काभ्रेका तीन अस्पताललाई भेन्टिलेटर र अक्सिजन कन्सन्ट्रेटर  सहयोग 

धुलिखेल, जेठ १७ : कोरोना भाइरस (कोभिड-१९) महामारीको समयमा जनताको जीवन रक्षाका लागि सक्रिय काभ्रेका तीनवटा अस्पताललाई स्वास्थ्य उपकरण सहयोग प्राप्त भएको छ।

नेपाल पत्रकार महासंघ काभ्रे शाखाको समन्वयमा प्रारम्भ (सामाजिक संस्था) र आनी छोइङ डोल्मा फाउण्डेशनले जिल्लाका धुलिखेल अस्पताल, शिर मेमोरियल अस्पताल र मेथिनकोट अस्पताललाई अत्यावश्यक स्वास्थ्य उपकरण सहयोग गरेका हुन्। कोभिड १९ संकट ब्यवस्थापन केन्द्रको रोहवरमा आज सम्बन्धित अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण गरिएको छ।

प्रारम्भ सामाजिक संस्थाकी अध्यक्ष एवं सिंगापुर रेडक्रसका नेपाल प्रतिनिधि कल्पना क्षेत्रीका अनुसार धुलिखेल अस्पताल र शिर मेमोरियल अस्पताललाई एक/एकवटा भेन्टिलेटर, दुई/दुईवटा अक्सिजन कन्सन्ट्रेटर, २०/२० थान पीपीई तथा मेथिनकोट अस्पताललाई दुईवटा अक्सिजन कन्सन्ट्रेटर, २० थान पिपिइ हस्तान्तरण गरिएको हो।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख उद्वव केसी, धुलिखेल नगरपालिका प्रमुख अशोक व्याञ्जु, प्रमुख जिल्ला अधिकारी शिवराज पोखरेल, सिंगापुर रेडक्रसका नेपाल प्रतिनिधि तथा प्रारम्भ सामाजिक संस्थाका अध्यक्ष कल्पना क्षेत्री, सुप्रसिद्ध गायिका एवं सामाजसेवी आनी छोइङ डोल्मा, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिना लगायतले धुलिखेल अस्पतालका डा. रमेश श्रेष्ठ र डा. दिपक श्रेष्ठ, शिर मेमोरियल अस्पतालका डा. एन्जिला, डा. अरुण गुप्ता र कार्यकारी निर्देशक सुन्दर थापा, मेथिनकोट अस्पतालका अध्यक्ष कृष्ण खनाललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए। 

काभ्रेका यी तीनवटै अस्पताल अहिले कोभिड डेडिकेटेड अस्पतालको रुपमा कोरोना संक्रमित बिरामीको जीवनरक्षाका लागि सक्रिय छन्। यी अस्पताललाई प्राप्त स्वास्थ्य उपकरणबाट अस्पतालको सेवामा थप टेवा पुग्ने अपेक्षा गरिएको छ। 

कार्यक्रममा धुलिखेल नगरपालिकाका प्रमुख एवं नेपाल नगरपालिका संघका अध्यक्ष अशोक व्याञ्जुले स्वास्थ्य सामग्री सहयोगको हिसाबले काभ्रेपलाञ्चोक जिल्लामा यो ठूलो सहयोग भएको र यसले मानिसको जीवन बचाउन ठूलो राहत मिल्ने बताए।

यस्तै प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले राज्यले गर्नुपर्ने काम कुनै व्यक्ति र संस्थाले गर्दा कोभिडविरुद्धको अभियान सफल बनाउन थप मद्दत पुग्ने बताए। उनले यो जनताको जीवनरक्षाको अभियानमा डिसिसिएमसीलाई पनि सहभागी गराएर सहयोग उपलव्ध गराएकोमा सहयोगी संस्थाको प्रशंसासमेत गरे । 

यस्तै सहयोगी संस्थाको तर्फबाट सुप्रसिद्ध गायिका आनी छोइङ डोल्माले आफूहरु प्रचार र हल्ला गर्नभन्दा पिवदमा साथ दिन आएको बताउँदै भोलिका दिनमा राज्य र समुदायलाई जोगाउन आफूहरुको साथ र सहयोग रहने प्रतिवद्धता जनाइन्। अस्पताललाई उपकरण सहयोग गरेर नागरिकको ज्यान बचाउन पाए त्योभन्दा ठूलो आत्मसन्तुष्टि हरु कुनै हुन नसक्ने उनको भनाइ थियो।

कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष इश्वरी ओझा, जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. नरेन्द्रकुमार झा, कालिजंग गणका गणपति मिलन थापा, जिल्ला प्रहरी कार्यलयका डिएसपी हरि खतिवडा, ससस्त्र प्रहरीका डिएसपी मनोहरी कुइकेल, नेपाल पत्रकार महासंघ काभ्रेका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना, प्रारम्भ संस्थाका सदस्य सुनैना क्षेत्री र माधव क्षेत्री लगायतको सहभागिता रहेको थियो। 

यसअघि प्रारम्भ (सामाजिक संस्था) र आनी छोइङ डोल्मा फाउण्डेशनले बनेपा, धुलिखेल, पनौती, पाँचखाल र नमोबुद्ध नगरपालिका तथा भुम्लु र रोशी गाउँपालिकाका आइसोलेसन केन्द्रका लागि अक्सिजन कन्सन्ट्रेटर, पिपिर्इ, पल्स अक्सीमिटर लगायतका स्वास्थ्य सामग्री प्रदान गरिसकेका छन्।

प्रकाशित मिति: १७:०१ बजे, सोमबार, जेठ १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्