Kathmandu Press

ललितपुर सुनाकोठी र बागडोलमा निःशुल्क आइसोलेशन

ललितपुर, जेठ १७ : ललितपुर महानगरपालिका–२६ सुनाकोठी र वडा ४ बागडोलमा निःशुल्क आइसोलेशनको सुविधा दिइएको छ। कोरोनाका बिरामीको स्वास्थ्यलाई ध्यानमा राखी महानगरपालिकाका यी...
ललितपुर सुनाकोठी र बागडोलमा निःशुल्क आइसोलेशन

ललितपुर, जेठ १७ : ललितपुर महानगरपालिका–२६ सुनाकोठी र वडा ४ बागडोलमा निःशुल्क आइसोलेशनको सुविधा दिइएको छ। कोरोनाका बिरामीको स्वास्थ्यलाई ध्यानमा राखी महानगरपालिकाका यी दुई स्थानमा निःशुल्क सुविधा दिइएको हो। 

ललितपुरमा बस्ने आर्थिक अवस्था कमजोर भएका तथा संयुक्त परिवारमा रहँदा बिरामीका लागि छुट्टै कोठा अनि शौचालयको प्रयोग गर्न सम्भव नभएका मानिसलाई दृष्टिगत गरी सुनाकोठीस्थित पोषण पुनस्थापना गृह र बागडोलस्थित ज्यापू समाजको भवनमा बिनाशुल्क आइसोलेशनको सुविधा दिइरहेको महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताए। 

‘मुलुकमा हाल कोरोनाको सङ्क्रमण दर घट्दै गएकाले मात्रै यी दुई ठाउँमा कोभिडका बिरामी राख्ने व्यवस्था गरेका छौं, यदि बिरामी दर बढ्दै गए पाटनढोकास्थित पाटन माविमा समेत आइसोलेशनको व्यवस्था गर्ने सोच अघि बढाइसकेका छौं,’ उनले भने।

उक्त गृहमा ५० र समाजमा १ सय १० गरी कूल १ सय ६० क्षमताको आइसोलेशन कक्षबाट बिरामीलाई निःशुल्क सुविधा दिइरहेको महर्जनले जानकारी दिए। गृहमा आज (सोमबार) मात्रै ३५ जनाले उपचार सेवा लिइरहेको नेपाल युथ फाउण्डेशनका कार्यकारी निर्देशक राजु धमलाले बताए।

‘यहाँ चार हाई डिपेनडेन्सी युनिट (एचडियु) को व्यवस्था गर्नाका साथै अक्सिजनसहित दुई मेडिकल अफिसर तहका चिकित्सका साथमा आवश्यक स्वास्थ्यकर्मीले सेवा गरिरहनुभएको छ, हिजोसम्म करीब ११० ले उपचार सेवा लिएर गइसके।’ 

सो स्थानमा आउने बिरामीमध्ये कसैलाई आइसियु सेवा आवश्यक परेमा कार्यालयको एम्बुलेन्समार्फत अस्पतालसमेत पु््याइदिने गरिरहेको धमलाले बताए। यसैगरी समाजमा आज ३३ बिरामीले उपचार सेवा लिइरहेका ज्यापू समाजका अध्यक्ष चन्द्र महर्जनले बताए।  

त्यसैगरी सो ठाउँमा उपचार गर्न आउने बिरामीमा मनोसामाजिक त्रास भेटिँदा परामर्शदाताको व्यवस्थासमेत गरिदिएको महानगरपालिकाले जनाएको छ।

यसअघि गृहले मुलुकमा पहिलो लहरको कोरोना महामारी भित्रिँदा खाडी मुलुकबाट स्वदेश फर्कने महिलाका स्वास्थ्यलाई ख्याल गरी क्वारेन्टिनको सुविधा दिएको धमलाले जानकारी गराए। 

प्रकाशित मिति: १३:३४ बजे, सोमबार, जेठ १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्