वैकल्पिक विधिबाट कक्षा १० को परीक्षा गर्न बोर्डले माग्यो अनुमति
काठमाडौं, जेठ १६ : यही जेठभित्र माध्यमिक शिक्षा परीक्षा (एसईई) सकाएर नतिजा प्रकाशन गर्ने कार्यक्रम शिक्षा मन्त्रालयले निर्धारण गरेको थियो। तर कोरोना त्रासका कारण गत...
काठमाडौं, जेठ १६ : यही जेठभित्र माध्यमिक शिक्षा परीक्षा (एसईई) सकाएर नतिजा प्रकाशन गर्ने कार्यक्रम शिक्षा मन्त्रालयले निर्धारण गरेको थियो।
तर कोरोना त्रासका कारण गत वैशाख २७ मा एसईई र कक्षा १२ को परीक्षा तत्काल नगर्ने निर्णय मन्त्रालयले गरेपछि ती कार्यक्रम अन्योलमा परेका छन्।
पूर्वनिर्धिारित तालिका लागु हुँदा यतिखेर एसईई चलिरहेको हुन्थ्यो। तर कोरोना महामारीले निम्त्याएको भयावह स्थिति र जारी निषेधाज्ञाका कारण परीक्षा स्थगित गरिएको थियो।
तर समय घर्किंदै जाँदा राष्ट्रिय परीक्षा बोर्डले वैकल्पिक विधिबाट एसईई सञ्चालन गर्न शिक्षा मन्त्रालयसँग अनुमति मागेको छ।
कोरोना संक्रमणको गति अझै ओरालो लागिनसकेका कारण र तत्काल यसमा कमी आइहाल्ने स्थिति पनि नदेखिएका कारण विद्यार्थीलाई भौतिक रूपमा उपस्थित गराइ परीक्षा लिन असम्भवजस्तै देखिएको हुँदा वैकल्पिक विधिबाट एसईई गर्नुपर्ने निष्कर्ष बोर्डले निकालेको छ।
बोर्डको बैठक हिजो (शनिबार) बैठक नै बसेको थियो। शिक्षा मन्त्रालयले कस्तो एसईईबारे निर्देशन दिन्छ सोहीमुताबिक अगाडि बढ्ने बोर्डले बताएको छ।
एसईई जेठ १३ गतेदेखि र कक्षा १२ को परीक्षा जेठ २६ गतेदेखि गर्ने तालिका थियो। गत वर्ष एसईई आन्तरिक मूल्यांकनबाट गरिएको थियो।











