गुठी विधेयक फिर्ता लिने मन्त्रिपरिषद्को निर्णय
काठमाडौं, असार ६ : मन्त्रिपरिषद्को हिजो बसेको बैठकले गुठीसम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयकलाई फिर्ता लिने निर्णय गरेको छ।
भूमिसुधार....
काठमाडौं, असार ६ : मन्त्रिपरिषद्को हिजो बसेको बैठकले गुठीसम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयकलाई फिर्ता लिने निर्णय गरेको छ।
भूमिसुधारमन्त्री पद्माकुमारी अर्यालको प्रस्तावमा उक्त निर्णय भएको हो। असार १० गते बस्ने राष्ट्रियसभा बैठकबाट फिर्ता लिने भूमिसुधारमन्त्री अर्यालको तयारी छ।
मन्त्री अर्यालले ‘राजगुठी, सार्वजनिक गुठी र निजी गुठीलाई व्यवस्थित गरी सर्वसाधारणको हित कायम गर्न तथा गुठी जग्गाको संरक्षण, उपयोग र व्यवस्थापन गर्नुका साथै गुठीको विकास, सञ्चालन र व्यवस्थापन गर्न आवश्यक व्यवस्था गर्न’ भनी बैशाख १६ गते राष्ट्रियसभामा उक्त विधेयक दर्ता गरेकी थिइन् ।
उक्त विधेयक राष्ट्रियसभामा प्रस्तुत भई सैद्धान्तिक छलफल गरी ‘विचार गरियोस्’ भन्ने प्रस्ताव समेत पारित भइसकेको थियो। उक्त विधेयक संशोधन हाल्न समय दिने चरणमा पुगिसकेको थियो। त्यसैले जुन प्रक्रियाबाट अघि बढेको हो, त्यही प्रक्रिया पूरा गरेर मात्र फिर्ता हुन सक्ने कानूनी प्रावधान छ।
विधेयक दर्ता मात्र भएको, सदनमा ‘टेबल’ नगरिएको अवस्थामा भए मन्त्रिपरिषद्कै पत्रको आधारमा संसद् सचिवालयले नै फिर्ता पठाइदिन सक्ने भए पनि प्रक्रिया अघि नबढी फिर्ता लिन सक्ने अवस्था छैन। मन्त्रिपरिषद्बाट निर्णय भइसके पनि आजसम्म राष्ट्रियसभामा मन्त्रिपरिषद् कार्यालयको पत्र भने पुगिसकेको छैन
राष्ट्रियसभाको अर्को बैठक असार १० गते मात्र बस्ने भएकाले सो दिनको सदनबाट मन्त्रीले विधेयक फिर्ता लिनेछिन्। चौतर्फी विरोधपछि मन्त्री अर्यालले असार ४ गते पत्रकार सम्मेलन गरी विधेयक फिर्ता लिने घोषणा गरेकी थिइन्।






