Kathmandu Press

विवाहको प्रलोभनमा परी एक युवती घरेलु हिंसाको सिकार

सर्लाही, जेठ १६ : सर्लाहीको विष्णु गाउँपालिकामा एक युवती घरेलु हिंसाको सिकार भएकी छन् । विष्णु–७ दुलबाका स्थानीयवासी शिवा राय यादवसँग भागी विवाह गरेकी...
विवाहको प्रलोभनमा परी एक युवती घरेलु हिंसाको सिकार

सर्लाही, जेठ १६ : सर्लाहीको विष्णु गाउँपालिकामा एक युवती घरेलु हिंसाको सिकार भएकी छन् । विष्णु–७ दुलबाका स्थानीयवासी शिवा राय यादवसँग भागी विवाह गरेकी युवती हिंसाको सिकार भएकी हुन् । गत वैशाख ५ गते सर्लाहीबाट भागी बारामा बसेका युवक र युवती २० दिनपछि गाउँ फर्किए पनि युवकले आफ्नो घर जान नमानेपछि ती युवती हिंसाको सिकार भएकी हुन्।

युवक र युवती दुवै जनाको सल्लाहअनुसार युवकले विवाह गर्ने भनी घरबाट लिएर भागेका भए पनि २० दिनपछि गाउँ फर्किएर आफूलाई ‘तिमी मुसहर समुदायकी केटी हौँ, तिमी आफ्नोघर जाऊ म तिमीसँग विवाह गर्दिनँ’ भनी छाडिदिएको पीडित युवतीले बताइन् । आफ्नै घर जाँदा आमाबुवाले अस्वीकार गरेपछि आफू शिवाको घर गएको तर शिवाको परिवारले आफूलाई पशुचौपायाझैँ बन्धक बनाएर राखेको पीडित युवतीले बताइन् । शिवाको परिवारले ती युवतीलाई मुसहर समुदायकी युवती भन्दै दाउरा राख्ने गोठमा विगत १० दिनदेखि बन्धक बनाएर राखेको उनको भनाइ छ ।

शिवाले ‘तिमी मुसहर समुदायकी हौँ, तिमी यहीँ’ बस भनेर दाउरा राख्ने गोठघरमा छाडेर भागेको पीडित युवतीले बताइन् । शिवा भागेपछि शिवाका परिवारले अहिले पीडित युवतीलाई गोठमै राखेर यातना दिइरहेको सर्लाहीका दलित अगुवा महेश पासवानले बताए। ‘जातीय छुवाछूत समाजिक अपराध हो, प्रेम सम्बन्धले जातपात देख्दैन तर यस्तो किसिमको जातीय विभेद हुनु भनेको दण्डनीय अपराध हो’, अर्का दलित अगुवा राजेश पासवानले भने। भागेर २० दिनसँगै बस्न मिल्ने तर आफ्नो घरमा राख्न नमिल्ने भन्दै पासवानले आक्रोश व्यक्त गरे। नेपाली समाजमा दलितका छोरीको जवानी चल्ने तर दलितले छोएको नचल्ने परम्पराको अन्त्य हुनु आवश्यक रहेको पासवानको भनाइ छ। उनले स्थानीय सरकार तथा प्रहरी प्रशासनसँग दोषीलाई यथाशीघ्र पक्राउ गरी कडा कारवाहीको मागसमेत गरेका छन्।

यता युवतीले प्रहरीमा किटानी जाहेरी दिए प्रचलित कानूनअनुसार युवकलाई कारवाही गर्ने जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले बताए। प्रदेश नं २ का अधिकांश जिल्लामा जातीय तथा धार्मिक र वर्गीय परम्पराको अन्त्य नहुँदा यस्ता घटना निरन्तर घटिरहेको मानवअधिकारवादी मुकेश मिश्रले बताए। रासस
 

प्रकाशित मिति: १०:०० बजे, आइतबार, जेठ १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्