Kathmandu Press

हुम्ला सदरमुकाम सिमकोट राष्ट्रिय राजमार्गमा जोडिने

सिमकोट, जेठ १६ : हुम्लाको जिल्ला सदरमुकाम सिमकोटलाई आगामी आर्थिक वर्ष राष्ट्रिय राजमार्ग सञ्जालमा जोडिने भएको छ। बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार हुम्लाको...
हुम्ला सदरमुकाम सिमकोट राष्ट्रिय राजमार्गमा जोडिने

सिमकोट, जेठ १६ : हुम्लाको जिल्ला सदरमुकाम सिमकोटलाई आगामी आर्थिक वर्ष राष्ट्रिय राजमार्ग सञ्जालमा जोडिने भएको छ। 

बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार हुम्लाको सदरमुकाम सिमकोटलाई आगामी आर्थिक वर्षमा जोडिने बताएका हुन्। नेपालका ७७ जिल्ला सदरमुकाममध्ये सिमकोटबाहेक ७६ सदरमुकाम राष्ट्रिय सडक सञ्जालमा जोडिएका छन्। 

सरकारका प्रत्येक वर्षको बजेट भाषणमा सिमकोटलाई राष्ट्रिय राजमार्गमा जोड्ने जनाइए पनि अहिलेसम्म जोडिन सकिरहेको छैन। बजेट भाषणका क्रममा हुम्लाका सिमकोटसहित डोल्पाको तल्लो डोल्पालगायत क्षेत्रमा पदयात्रा मार्ग निर्माण गरिने जनाएको छ। 

जिल्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिकाको यारीलाई सुक्खा बन्दरगाहको पूर्वतयारी सम्पन्न गरी निर्माण प्रारम्भ गरिने भएको छ। यसैगरी सरकारले यारी, हिल्सा क्षेत्रलाई पहुँचमार्ग निर्माण तथा सुधारका लागि बजेटको व्यवस्था गरेको छ। 

हुम्लासहित देशभरका सबै जिल्ला अस्पतालमा प्रसूति तथा नवजात शिशु स्याहार सेवा सञ्चालनमा ल्याइने भएको छ। मातृ स्वास्थ्यमा सुधार ल्याउन हुम्ला, डोल्पा, मुगु, बझाङ्गलगायत दुर्गम क्षेत्रका २० जिल्लामा प्रसूति समय अगाडिको स्वास्थ्य जाँच र औषधिको सुविधासहितको मातृ प्रतीक्षागृह सञ्चालन गरिने जनाइएको छ। (रासस)

प्रकाशित मिति: ०७:३९ बजे, आइतबार, जेठ १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्