स्वतन्त्र प्रेसमाथि अप्ठ्यारो पार्ने सरकारको कुनै नीति छैन: मन्त्री बाँस्कोटा
काठमाडाैं, असार ६ : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले लोकतन्त्र र स्वतन्त्र प्रेसमाथि अप्ठ्यारो पार्ने सरकारको कुनै नीति नर....

काठमाडाैं, असार ६ : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले लोकतन्त्र र स्वतन्त्र प्रेसमाथि अप्ठ्यारो पार्ने सरकारको कुनै नीति नरहेको स्पष्ट पारेका छन्।
प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा विनियोजन विधेयक २०७६ अन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका विषयमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री बाँस्कोटाले सरकारले कसैलाई अप्ठेरो बनाएको छैन, प्रेसमाथि कहीँबाट पनि कुनै खतरा नभएको बताएका हुन्।
'सरकारबाट कसैलाई पनि समाचार लेखेबापत केही भनिएको छैन, गरिएको पनि छैन, प्रेसमाथि अङ्कुश लगाउने कुरा भएको छैन,'उनले भने। आमसञ्चार माध्यमलाई ऐनमार्फत व्यवस्थित गर्ने प्रयास भइरहेको उल्लेख गर्दै उनले सञ्चार क्षेत्रमा देखिएको आन्तरिक तथा बाह्य चुनौतीले धेरै समस्या सिर्जना गरेको बताए।
मन्त्री बाँस्कोटाले राष्ट्रियसभामा पेश गरेको मिडिया काउन्सिलसम्बन्धी विधेयकमा आएका सकारात्मक कुरालाई सम्बोधन गरिने विश्वास दिलाउँदै लोक कल्याणकारी विज्ञापनमा कुनै विभेद नगरिएको स्पष्ट पारे। उनले भने,'प्रेस काउन्सिललाई बलियो बनाउन विधेयक ल्याइएको हो। पत्रपत्रिकाको वर्गीकरणमा पक्षपात भएको छैन । डाटा सेन्टर बनाउन मिडिया स्वतन्त्र छन्।'











