Kathmandu Press

सर्वसाधारणका लागि सेयर जारी गर्दै वर्ल्ड लिंक

काठमाडौं, असार ६ : इन्टरनेट सेवा प्रदायक टेलिकम्युनिकेशन कम्पनी वर्ल्ड लिंकले सर्वसाधारणलाई साधारण सेयर दिने भएको छ। पब्लिक कम्पनीमा रुपान्तरण भए....

सर्वसाधारणका लागि सेयर जारी गर्दै वर्ल्ड लिंक

काठमाडौं, असार ६ : इन्टरनेट सेवा प्रदायक टेलिकम्युनिकेशन कम्पनी वर्ल्ड लिंकले सर्वसाधारणलाई साधारण सेयर दिने भएको छ। पब्लिक कम्पनीमा रुपान्तरण भएसँगै वर्ल्ड लिंकले सर्वसाधारणलाई ४९ प्रतिशत सेयर दिन लागेको हो।

दिलिप अग्रवाल मुख्य लगानीकर्ता रहेको वर्ल्ड लिंकले स्थापना भएको २४ वर्षपछि सर्वसाधारणलाई पनि सेयर जारी गर्न लागेको हो। वर्ल्ड लिंक सूचना प्रविधिको क्षेत्रमा निजी क्षेत्रको पहिलो सार्वजनिक कम्पनी समेत भएको छ। 

नेपाल दूरसञ्चार प्राधिकरण उच्च स्रोतका अनुसार वर्ल्ड लिंक सार्वजनिक निजी कम्पनीको रुपमा सञ्चालन गर्न केही महिना अघिमात्रै आवेदन दिएको थियो। यस विषयमा वर्ल्ड लिंक कम्पनीले भने प्रक्रिया पूरा भइनसकेकाले बोल्न अस्वीकार गरेको छ। 

प्राधिकरण स्रोतका अनुसार कम्पनीले दुई वर्षभित्र सर्वसाधारणलाई साधारण सेयर दिने गरी प्रक्रिया अघि बढाएको छ। हाल ६ करोड चुक्ता पूँजी रहेको कम्पनीले वृद्धि गर्दै १२ करोड रुपैयाँ पुर्‍याउने लक्ष्य राखेको छ। प्रत्येक वर्ष नाफामा रहेको कम्पनीले देशभर आफ्नो सञ्जाल विस्तार गरिसकेको छ। कम्पनीले पौने ६ लाख कित्ता बराबर सेयर सर्वसाधारणलाई दिने गरी प्रक्रिया सुरु गरेको छ। 

वर्ल्ड लिंकले नेपालमा सन् १९९५ मा इन्टरनेट सेवा सुरु गरेको थियो। नेपालभर आफ्नो सञ्जाल विस्तार गरेको कम्पनीसँग देशभर २ हजार ८ सय कर्मचारीहरु रहेका छन्।
नेपालमा इन्टरनेट सेवा प्रदायक कम्पनीहरु दुई दर्जन कम्पनी रहेको भएपनि पहिलो पटक वर्ल्ड लिंक सार्वजनिक कम्पनीमा रुपान्तरित हुँदै सर्वसाधारणलाई सेयर जारी गर्न लागेको हो। 

नेपालमा भायो नेट, क्लासिक टेक, मार्कन्टाइल, ब्रोन्ड ब्यान्ड, ब्रोडलिंक नेटवर्क, इष्ट लिंक, वाइम्याक्स, हिमायलन वेभ सर्फर, एभरेष्ट लिंक गरी दुई दर्जन निजी क्षेत्रका कम्पनीहरु रहेका छन्। त्यसैगरी, मोबाइल तथा इन्टरनेट सेवा प्रदायक सरकारीमा नेपाल टेलिकम रहेको छ। निजी क्षेत्रको मोबाइल सेवा प्रदायकले पनि सेयर जारी गर्ने भनेता पनि पछिल्लो समय विवादका कारण रोकेको छ। 

प्रकाशित मिति: १६:५४ बजे, शुक्रबार, असार ६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्