गुठीको मर्म र भावनामा असर पर्ने काम सरकारले गर्दैनः मन्त्री अर्याल
काठमाडौं, असार ६ : भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले मुलुकका विभिन्न समुदायका धार्मिक, सांस्कृतिक तथा गुठ....

काठमाडौं, असार ६ : भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले मुलुकका विभिन्न समुदायका धार्मिक, सांस्कृतिक तथा गुठीको मर्म र भावनामा असर पर्ने काम सरकारले नगर्ने बताएकी छिन्।
प्रतिनिधिसभामा विनियोजन विधेयक २०७६ अन्तर्गत भूमि व्यवस्था मन्त्रालयमाथिको छलफलमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै उनले धर्म, परम्परा, मान्यता र मठमन्दिरसँग जोडिएको मर्म एवं भावनानुकूल काम गर्न सरकार प्रतिबद्ध रहेको बताएकी हुन्।
फरक प्रसंगमा उनले देशको आफ्नै स्रोत र साधन प्रयोग गरेर सगरमाथाको उचाइ नाप्ने काम भइसकेको बताइन्। ३३५ वटा स्थानीय तहको नापनक्शा गर्ने काम भूउपयोगका माध्यमबाट भइसकेको र बाँकीको छिटोभन्दा छिटो पूरा गरिने उनले बताइन्।
सरकार भूमिहीन र सुकुम्बासीको समस्या समाधान गर्न प्रतिबद्ध रहेको भन्दै उनले एक लाख ५२ हजार भूमिहीन घरपरिवारलाई जग्गा वितरण गरिसकिएको तथा मुक्तहलिया र कमैयाको हकहितका पक्षमा काम गरिने बताइन्। सरकारी र सार्जजनिक जग्गाको संरक्षणका लागि समिति गठन गरिसकिएको र मुलुकका ६६ मालपोत कार्यालयमा कम्प्युटरका माध्यमबाट काम शुरु भइसकेको उनले जानकारी दिइन्।
मन्त्री अर्यालले मोहियानी हकलाई स्थापित गर्न कानून निर्माणको काम भइरहेको बताइन्। उनले गरीब लक्षित कार्यक्रमलाई सबैभन्दा पछि परेको समुदाय र स्थानबाट शुरु गरिने जानकारी दिइन्। भूउपयोग ऐनमार्फत चक्लाबन्दी शुरु भएको र त्यस्तो काममा लाग्नेलाई प्रोत्साहन गर्ने काम भइरहेको बताउँदै उनले भूउपयोगलाई व्यवस्थित गरी उत्पादकत्व र आर्थिक वृद्धि हासिल गरिने बताइन्।











