भेरी अस्पतालमा स्वास्थ्यकर्मीलाई कुटपिट गरिएकोप्रति राष्ट्रपतिद्वारा खेद प्रकट
काठमाडौं, जेठ १४ : राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राति नेपालगञ्जस्थित भेरी अस्पतालमा स्वास्थ्यकर्मीलाई कुटपिट गरिएकोप्रति खेद प्रकट गरेकी छन्।शुक्रबार दिउँसो ट्वीट गर्दै राष्ट्रपति भण्डारीले...
काठमाडौं, जेठ १४ : राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राति नेपालगञ्जस्थित भेरी अस्पतालमा स्वास्थ्यकर्मीलाई कुटपिट गरिएकोप्रति खेद प्रकट गरेकी छन्।
शुक्रबार दिउँसो ट्वीट गर्दै राष्ट्रपति भण्डारीले आफ्नो र परिवारको जीवन जोखिममा राखेर कोभिड–१९ का बिरामीको उपचारमा संलग्न भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार हुनु खेदजनक भएको बताएकी हुन् ।
‘दु:ख परेका बेला भावनात्मक उत्तेजना हुन सक्छ। यस विषम परिस्थितिमा संयम र धैर्य अपनाउँदै यो महामारीलाई परास्त गर्नु हामी सबैको साझा दायित्व हो,’ राष्ट्रपति भण्डारीले लेखेकी छन्।
बिहीबार राति भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि कुटपिट भएको थियो, घटनामा संलग्न रहेको आरोपमा तीन जना पक्राउ परिसकेका छन् । बिरामीको मृत्यु भएपछि तुलसीपुरका मानबहादुर रावत, भरत राउत र लोकराज रावतले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको थिए ।











