Kathmandu Press

कञ्चनपुरमा गणतन्त्र दिवस तीन दिनसम्म मनाइने

कञ्चनपुर, जेठ १४ : कञ्चनपुरमा गणतन्त्र दिवस तीन दिनसम्म भव्यताका साथ मनाइने भएको छ। जेठ १४, १५ र १६ गते गणतन्त्र दिवस मनाइन लागेको...
कञ्चनपुरमा गणतन्त्र दिवस तीन दिनसम्म मनाइने

कञ्चनपुर, जेठ १४ : कञ्चनपुरमा गणतन्त्र दिवस तीन दिनसम्म भव्यताका साथ मनाइने भएको छ। जेठ १४, १५ र १६ गते गणतन्त्र दिवस मनाइन लागेको हो। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रशासकीय अधिकृत कृष्णनन्द जोशीका अनुसार गणतन्त्र दिवसका आवसरमा जिल्लास्थित सबै सरकारी, सार्वजनिक कार्यालय एवं सामुदायिक सङ्घसंस्थाले राष्ट्रिय झण्डा एवं ब्यानर सजाइ कार्यालय र परिसरको सरसफाइ गर्ने कार्यक्रम तय गरिएको छ।

जिल्लाभित्र रहेका धार्मिक, सांस्कृतिक सम्पदास्थलको सरसफाइसहित सौन्दर्यीकरण अभिवृद्धि गर्ने कार्य गरिने छ । सरकारी तथा सार्वजनिक निकायका कार्यालय सार्वजनिक महत्वका सम्भाव्यस्थलमा दीप प्रज्ज्वलन तथा जिल्लावासी आमनागरिकले घरघरमा साँझ दीपावली गरिने छ । गणतन्त्र दिवसका सन्दर्भमा सरकारी, गैरसरकारी तथा सामुदायिक सङ्घसंस्थाले भर्चुअल विद्युतीय माध्यमबाट रचनात्मक, सिर्जनात्मक, सन्देशमूलक जनचेतनामूलक कार्यक्रम गर्ने व्यवस्था गरिएको छ। कार्यक्रम गर्दा जनस्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरिने बताइएको छ।

निषेधाज्ञाको समयावधि थपियो

कञ्चनपुरमा निषेधाज्ञाको समयावधि एक साता थप गरिएको छ । उच्चदरमा फैलिदै गइरहेको कोरोनाको सङ्क्रमण रोकथाम, नियन्त्रण, निदान र उपचारका लागि जिल्ला कोभिड व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले निषेधाज्ञाको समयावधि जेठ १५ देखि २२ गते राति १२ बजेसम्मका लागि थप गर्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी रामकुमार महतोका अनुसार निषेधाज्ञाको समयावधिमा औषधोपचारलगायत अत्यावश्यक कामका लागि बाहेक घर बाहिर निस्कन र हिँडडुल गर्न निषेध गरिएको छ । सबै प्रकारका सभा सम्मेलन, गोष्ठी, तालिम सेमिनार, सिनेमा हल, पार्टीप्यालेस, स्वमिङपुल, सपिङमल, मनोरञ्जन स्थल, सैलुन, ब्यूटीपार्लर, जिमखाना, समूहमा खेलिने खेलकूद, पुस्तकालय, सङ्ग्रहालय आदि सञ्चालन गर्न पाइने छैन । स्वास्थ्य सेवा, दूध डेरी तथा पेट्रोलियम पदार्थसम्बन्धी पसल व्यवसायबाहेकका अन्य पसल व्यवसाय सञ्चालन गर्न पाइने छैन ।

तरकारी तथा फलफूलको हकमा सम्बन्धित स्थानीय तह र उद्योग वाणिज्य सङ्घको समन्वयमा स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गरी हरेक आइतबार र बुधबार बिहान ६ देखि ९ बजेसम्म घुम्ती पसल सञ्चालन गर्न पाइने छ । खाद्यवस्तुका पसल व्यवसाय हरेक आइतबार र बुधबार बिहान ६ देखि ९ बजेसम्म जनस्वास्थ्य सुरक्षाको मापदण्डको पूर्णपालना गर्ने गरी सञ्चालन हुनेछन् । त्यसैगरी अत्यावश्यक मालसमान ढुवानीका साधनबाहेक अन्य सबै सार्वजनिक एवं निजी सवारी साधन सञ्चालन गर्न पाइने छैन ।

राष्ट्रिय गौरवको आयोजनाको हकमा निर्माण सामग्री, उपकरण, कामदार निर्माणस्थलमानै राखी निर्मण गर्नेबाहेक सबै स्थगन गरिएको छ । सञ्चारकर्मीको हकमा पत्रकार महासङ्घको सिफारिसमा जिल्ला प्रशासन कार्यालयबाट साविकमा उपलब्ध गराइएको पास वा सूचना प्रसारण विभागबाट जारी भएको पत्रकार परिचयपत्रका आधारमा आवतजावत गर्न सकिने छ । खुला सिमानाको जुनसुकै बिन्दुबाट आवागमन निषेध गरिएको छ । नेपाल प्रवेश गर्ने कञ्चनपुर जिल्लाको हकमा सम्बन्धित स्थानीय तहको समन्वयमा गन्तव्यतर्फ पठाइने व्यवस्था गरिएको छ । रासस
 

प्रकाशित मिति: ०९:५३ बजे, शुक्रबार, जेठ १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्