Kathmandu Press

कोरानाविरुद्ध लड्न चिकित्सक संघद्वारा स्वास्थ्यकर्मीलाई तालिम

काठमाडौं, जेठ १३ : नेपाल चिकित्सक संघले आज (बिहीबार) स्वास्थ्यकर्मीका लागि कोरोना संक्रमण उपचार व्यवस्थापनसम्बन्धी तालिम सुरु गरेको छ।विश्व स्वास्थ्य संगठनलगायत स्वास्थ्य क्षेत्रका...
कोरानाविरुद्ध लड्न चिकित्सक संघद्वारा स्वास्थ्यकर्मीलाई तालिम

काठमाडौं, जेठ १३ : नेपाल चिकित्सक संघले आज (बिहीबार) स्वास्थ्यकर्मीका लागि कोरोना संक्रमण उपचार व्यवस्थापनसम्बन्धी तालिम सुरु गरेको छ।

विश्व स्वास्थ्य संगठनलगायत स्वास्थ्य क्षेत्रका विभिन्न संघसंस्थासँग मिलेर सुरु गरिएको तालिम पाँच समूहलाई दुई/दुई दिनेका हिसाबले १० दिन चल्ने बताइएको छ। एउटा समूहमा सयजना समेटिएको हुनाले ५ सय चिकित्सक एवं स्वास्थ्यकर्मी यो तालिममा प्रत्यक्ष सहभागी हुनेछन्।

चिकित्सक संघका अनुसार कोरोना महामारीबाट बच्न संक्रमितलाई कसरी उपचार गर्ने, कोरोना अस्पतालमा चिकित्सकको तर्फबाट बिरामीको व्यवस्थापन कसरी गर्ने र संक्रमितको उपचार गर्दा आफू कसरी जोगिने भन्नेजस्ता विषयमा केन्द्रित रहेर तालिम प्रदान गरिनेछ। 

जुम भर्चुअल माध्यमबाट गर्न लागिएको यो तालिमको फेसबुक लाइभ पनि दिन लागिएको छ। उक्त तालिमको नाम  ‘क्रिटिकल केयर ट्रेनिङ फर हेल्थ केयर वर्कर्स : कोभिड १९’ दिइएको छ। 

स्वास्थ्यकर्मीको अभाव रहेको नेपाली स्वास्थ्य प्रणाली निकट भविष्यमा नै जनशक्तिको अभावले संकटमा पर्ने अवस्था आउन सक्ने भन्दै चिकित्सक संघले त्यसको पूर्वतयारीस्वरुप स्वास्थ्यकर्मीलाई तालिम दिन लागेको हो।

तालिम नेपाल चिकित्सक संघ, विश्व स्वास्थ्य संगठन, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको संयुक्त आयोजनामा गर्न लागिएको चिकित्सक संघले जनाएको छ।

तालिममा प्राविधिक सहयोग भने सोसाइटी अफ इन्टरनल मेडिसिन अफ नेपाल (सिमोन), सोसाइटी अफ एनेस्थेसिओलोजिस्ट्स अफ नेपाल (सान) र क्रिटिकल केयर नर्स एसोसिएसन अफ नेपालको रहेको जनाइएको छ।

प्रकाशित मिति: १२:२३ बजे, बिहीबार, जेठ १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्